
२ मंसिर, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा सर्वोच्च अदालतमा फेरि सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आगामी सोमबार (मंसिर ७ गते) अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश दिएको हो ।
उक्त दिन रिट निवेदक कार्कीका कानुन व्यवसायी, सरकारको निर्णयको प्रतिरक्षा गर्ने सरकारी वकिल तथा नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले आफ्नो पक्ष राख्नेछन् ।
यसअघि बुधबार सर्वोच्च अदालतले कार्कीको मागअनुसार तत्काल अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । दुवै पक्षको बहस सुनेपछि मात्रै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने निर्णय लिन छलफलका लागि बोलाइएको हो ।
मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो । त्यसपछि एआईजी डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको थियो ।
सरकारको उक्त निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्कीले आफूलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्न मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।