
१९ कात्तिक, काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, निरोशन डिकवेलाले २७ बलमा २ चौका र १ छक्काको मद्दतमा २७ रन जोडे ।
आसिफ शेख र दिलीप नाथले समान २१ रन बनाए भने शामिन हुसेनले १३ रनको योगदान दिए । लुम्बिनीका ओपनर डार्सी सर्ट खेलको पहिलो बलमै आउट भएका थिए ।
रुबेन ट्रम्पलम्यानले आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ छक्काको मद्दतमा १५ रन बनाए । आठौँ नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोराले ९ रन बनाए ।
जनकपुरले लुम्बिनीविरुद्ध स्पिन बलिङलाई बढी प्रयोग गरेको थियो । १७ ओभर स्पिन बलिङ गराएको जनकपुरका बलरले कुल ७ विकेट लिए । जसमा स्पिनरले ४ र तीव्र गतिका बलरले ३ विकेट लिए ।
जनकपुरका लागि विशाल सुशलिङ र राहुल यादवले समान २ विकेट लिए । विशालले ४ ओभरमा २१ रन खर्चिए भने राहुलले २ ओभरमा १७ रन दिए ।
त्यस्तै, कप्तान हर्मीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले समान १ विकेट लिए ।