
२० कात्तिक, काठमाडौं । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ ।
कार्कीले बिहीबार आफ्ना वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए । उक्त निवेदन शुक्रबार दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
बिहीबार भने निवेदन अध्ययनका क्रममा रहेकाले दर्ता हुन नसकेको बताइएको थियो ।
सर्वोच्च अदालतमा निवेदन दर्ता भएको भोलिपल्ट सुनुवाइका लागि पेशी तोक्ने प्रचलन छ । सोहीअनुसार कार्कीको रिटमाथि सुनुवाइका लागि पेशी तोकिने अपेक्षा गरिएको छ ।
सरकारले निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । तर, कार्कीले मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्र भने बुझेका छैनन् ।
आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबीसहित उनले सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन् ।