
२० कात्तिक, काठमाडौं । तिहार नजिकिएसँगै सयपत्री र गोदावरी फूल टिप्न नागार्जुन नगरपालिका–नयाँगाउँका किसानलाई चटारो परेको छ ।
तिहारमा अत्यधिक माग हुने फूल टिप्न किसानहरू बिहानैदेखि व्यस्त छन् । नयाँगाउँकी किसान कान्छी तामाङ पनि बिहानको खाना खाएपछि ठूला थुँगा र राम्ररी फक्रिएका फूल टिपेर बजार लैजाने तयारीमा जुट्छिन् ।
तर, यस वर्षको बेमौसमी वर्षा र हावाहुरीका कारण फूलमा क्षति पुगेपछि किसानहरू निराश छन् । वर्षा र हावाहुरीले फूलका बोट ढल्नुका साथै फक्रिएका फूल र कोपिलासमेत बिगारेको तामाङले बताइन् ।
‘पछिल्लो समय पानी पर्यो । बेमौसमी झरी र हावाहुरीले गर्दा बोट ढलेका छन् । फक्रेका फूल र कोपिलामा पनि चोट लाग्यो । पानी बढी भएर फूल पनि काला भए । पहिलाजस्तो फूल फलेको छैन,’ उनले भनिन् ।
किसानहरूले भोलिदेखि फूल बजारमा बिक्रीका लागि लैजाने तयारी गरेका छन् । तर, फूलको मूल्य भने अझै निर्धारण भइसकेको छैन ।
ठेकेदारमार्फत फूल बिक्री हुने भएकाले भोलिदेखि मात्रै मूल्य निर्धारण हुने किसानहरूले बताएका छन् ।
तिहारमा सयपत्री र गोदावरी फूलको माग उच्च हुने भए पनि यस वर्ष बेमौसमी वर्षा र हावाहुरीका कारण उत्पादनमा कमी आउँदा किसान प्रभावित भएका छन् ।