
२० कार्तिक, काठमाडौं । नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ ।
महासङ्घका अध्यक्ष निर्मला शर्मासहित पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्य सम्मिलित प्रतिनिधिमण्डलले शुक्रबार राष्ट्रपति पौडेलसँग भेट गरी अध्यादेशका प्रावधानबारे ध्यानाकर्षण गराएको हो ।
भेटका क्रममा प्रतिनिधिमण्डलले अध्यादेशमा समावेश गरिएका प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावबारे राष्ट्रपतिलाई जानकारी गराएको महासङ्घले जनाएको छ ।
महासङ्घले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सञ्चार क्षेत्रको स्वायत्ततामा असर पर्ने गरी कानुनी व्यवस्था गर्न नहुने धारणा राख्दै अध्यादेश जारी नगर्न आग्रह गरेको हो ।
प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेशका प्रावधानलाई लिएर पत्रकार महासङ्घले राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ ।