
२० कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्कीए प्रस्थान गरेका छन्।
टर्कीएको आन्ताल्यामा आगामी नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, नोभेम्बर ११ र १२ मा आयोजना हुने विश्व नेताहरूको शिखर सम्मेलनमा समेत उनले सहभागिता जनाउनेछन्।
परराष्ट्रमन्त्री खनाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीएका लागि प्रस्थान गरेका हुन्।
सम्मेलनका क्रममा मन्त्री खनालले नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डाः ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स अन्डर ओभरसुट, सियर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनेछन्।
उक्त कार्यक्रममा हिमाली क्षेत्रका हिमनदी, क्रायोस्फियर, जलवायु परिवर्तनका चुनौती, साझा जिम्मेवारी र दिगो वित्तीय व्यवस्थापनका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यसका अतिरिक्त परराष्ट्रमन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय बैठक तथा साइड इभेन्टहरूमा सहभागिता जनाउनुका साथै विभिन्न देशका समकक्षी मन्त्री र विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सञ्जय आचार्य, कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रसहित सरकारी क्षेत्रका नौ जना अधिकारी सहभागी छन्।
परराष्ट्रमन्त्री खनाल आगामी नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेका नेपालजस्ता हिमाली मुलुकका लागि कोप–३१ अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना समस्या, चुनौती र जलवायु न्यायका सवाल उठाउने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।