
धादिङ । मातातीर्थ सबस्टेसनबाट नौबिसे सबस्टेसनतर्फ आएको ३३ केभी प्रसारण लाइनमा फल्ट भएपछि धादिङका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ।
नेपाल विद्युत् प्राधिकरण धादिङ वितरण केन्द्रका अनुसार बुधबार बिहान २ः४५ बजे लाइनमा फल्ट देखिएपछि धुनिवेसी, धार्के, थाक्रे, महादेवबेँसी, मलेखु, बैरेनी, जहरे, किराञ्चोक, पीडा लगायतका क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको हो।
फल्ट पत्ता लगाई लाइन मर्मत तथा विद्युत् सेवा सुचारु गर्न धार्के नो-लाइट टोली फिल्डमा खटिएको वितरण केन्द्रले जनाएको छ।
लाइनमा देखिएको फल्ट पत्ता लागेपछि मात्रै विद्युत् सेवा पुनः सुचारु गर्न सकिने भएकाले केही समय लाग्न सक्ने प्राधिकरणले जनाएको छ।
विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न गएको असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण धादिङ वितरण केन्द्रले क्षमायाचना गरेको छ।