वैशाख २ काठमाडौँ / आजदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदैछ । विगतका वर्षहरूमा तीनै तहका सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएका छन् ।
तर यो पटक भने भर्ना अभियान अन्योल बन्ने भएको छ । किनकि प्रमुख अभियानकर्ता शिक्षक तथा विद्यालय कर्मचारीहरू १४ दिनदेखि काठमाडौँको सडकमा आन्दोलनरत छन् ।
यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित उनीहरूले चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको संयोजनमा भइरहे आन्दोलनअन्तर्गत चैत २५ गतेदेखि अनिश्चितकालीन शैक्षिक हडताल नै घोषणा गरिएको छ । यो अवधिभर कुनै प्रकारका उत्तरपुस्तिका परीक्षण नगर्ने, परीक्षामा सहभागी नहुने, पठनपाठनमा सहभागी नहुने उनीहरूले घोषणा गरेका छन् ।
१४ दिनदेखि सडकमै आन्दोलन गर्दै आएका शिक्षकहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । महासंघले जिल्ला तथा घरमा रहेका शिक्षक कर्मचारीलाई काठमाडौँ आउन उर्दी नै जारी गरेको छ ।
महासंघका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने, अन्य क्रियाकलापमा सहभागी हुने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी भइरहेको जनाएका छन् । माग पूरा नहुँदासम्म आन्दोलनको मोर्चाबाट भाग्ने सुविधा नरहेको उनीहरूको भनाई छ ।