५ जेठ, काठमाडौं / काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह आफैंले गरेको निर्णयबाट पछि हटेका छन् ।
१ जेठमा बालेनले सूचना प्रविधि समिति संयोजक नवीन मानन्धर, सुशासन समिति संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगत र विधायन समिति संयोजक मचाराजा महर्जनको जिम्मेवारी खोसेका थिए ।
उक्त निर्णय खोसिएकोमा वडाध्यक्षहरूले विरोध जनाएका थिए । उक्त निर्णयबाट मेयर शाह पछि हटेको एक वडाध्यक्षले जानकारी दिए । ‘पछिल्लो समय आफू (मेयर शाह) ले गरेका केही बचकाना निर्णयबाट पनि पछि हट्नु भएको छ,’ एक वडाध्यक्षले भने ।
उनीहरूको स्थानमा सूचना प्रविधि समिति संयोजकमा एमालेबाट निर्वाचित वडाध्यक्ष वीरेन्द्र प्रजापति, कांग्रेसबाट नै निर्वाचित वडाध्यक्ष दलबहादुर कार्कीलाई सुशासन समिति संयोजक, सम्पदा तथा पर्यटन समितिका संयोजकमा कांग्रेसबाट निर्वाचित विनोदकुमार राजभण्डारी र विधायन समितिमा रास्वपाबाट निर्वाचित रोजिना श्रेष्ठ संयोजक तोकिएका थिए ।
बालेनले नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समिति संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको बताएका थिए ।