६ असार काठमाडौं / परराष्ट्र मन्त्रालयले इजरायलबाट नेपाल फर्कन ६ सयजनाले नाम दिएको जनाएको छ । इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टल खोलेर विवरण लिन सुरू गरिएको थियो । “उक्त पोर्टलमा हालसम्म ६०० जनाभन्दा बढीले विवरण दर्ता पनि गराइसकेका छन् ।
मन्त्रालयले गत बुधबार नै दोस्रोपटक ट्राभल एड्भाइजरी जारी गरेर हाल इजरायल तथा इरानमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन र नेपालबाट इजरायल वा मध्यपूर्वका अन्य मुलुकको भ्रमण नगर्न अनुरोध पनि गरिएको थियो ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थितिअनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरू अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेहरूलाई उद्धार गर्ने तयारीमा रहेको बताएकी छन् ।
मन्त्री डा. राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारी बारेमा छलफलका क्रममा सो जानकारी गराएकी छन् ।
मन्त्री डा. राणाले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावासले सक्रिय रूपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेसन पनि खुलेको जानकारी दिइन् । स्वदेश फर्कन चाहेमा उद्धारका लागि त्यसको प्रबन्धको तयारीमा सरकार रहेको पनि स्पष्ट पारिन् ।