१६ असार काठमाडौँ / बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । गत असार १२ गतेका लागि तोकिएको बैठक विशेष कारणले स्थगन भएको थियो । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक असार १६ गते सारिएको जानकारी गराएको थियो ।
आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार, बजेटमाथिको छलफल र त्यसपछि हुने संशोधन प्रस्तावहरूलाई समेटेर बैठकहरू निरन्तर सञ्चालन गरिने तयारी गरिएको छ ।
मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकारले ल्याएको बजेटप्रति सत्तारुढ दलकै सांसदहरूबिच असन्तुष्टि देखिएको छ । विशेष गरी नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले बजेटमा विकास योजनाको वितरण असमान भएको भन्दै आलोचना गर्दै आएका छन् । कांग्रेस सांसदको बजेट माथिको असन्तुष्टिका कारण संसदीय दलको बैठक नै प्रभावित भएको थियो ।