२४ असार काठमाडौँ / रसुवाको बाढीमा बेपत्ता हुनेको संख्या १८ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गएराति ३ बजे चीनतर्फ रसुवाको गोसाइकुन्ड गाउँपालिका –२ रसुवागढीमा आएको बाढीमा परी हालसम्म १८ जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा तीन प्रहरी, ९ जना नेपाली कामदार र ६ जना चिनियाँ कामदार रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टिमुरेबाट प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ,प्रहरी जवानहरू मुन्ना ठाकुर र लोकेन्द्र बोहरा उद्धारमा खटिएका थिए । त्यसक्रममा उनीहरू तीनै जना सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।
बाढीमा फसेका ९ जनाको भने उद्धार भएको छ । सशस्त्र प्रहरी बलका एक जना, नेपाल प्रहरीका एक जना र सात जना स्थानीयलाई उद्धार गरिएको रसुवा प्रहरीले जनाएको छ । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पुर्ण रुपमा क्षति भई मानिस र सवारी साधनमा आगत जावत बन्द भएको छ ।
गोसाइकुण्ड गाउँपालिका– २ मा रहेको विद्युती सवारीसाधन चार्जिङ स्टेशनमा पनि क्षति पुगेको छ । बाढीले ७/८ वटा विद्युतीय गाडी बगाएको र भन्सार कार्यालय यार्डमा क्षति पुगेको छ। साथै रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति भएको प्रहरीले जनाएको छ ।