२३ साउन काठमाडौँ / नेपाल प्रहरीले आह्वान गरेको सार्वजनिक खरिद सम्बन्धी बोलपत्रमा मिलेमतो गरेको आरोप लागेपछि छानबिन सुरू भएको छ । बन्दोबस्तीका सामान खरिदका लागि गरिएको बोलपत्र आह्वानमा मिलेमतो भएको उजुरीपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले छानबिन थालेको हो ।
कार्यालयका सहसचिव तथा प्रवक्ता रामबन्धु सुवेदीका अनुसार खरिद अनुगमन शाखाका प्रमुख विनोद कोइरालाको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरी छानबिन सुरू गरिएको छ ।
उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । ‘के कसो भएको हो, यथार्थ विवरण अध्ययन गर्नू र सिफारिस गर्नू भन्ने कार्यादेश समितिलाई दिइएको छ,’ प्रवक्ता सुवेदीले भने, ‘समितिको निष्कर्ष र सिफारिस केकस्तो आउँछ त्यसअनुसार नै कार्यालयले निर्णय लिन्छ ।’
नेपाल प्रहरी प्रधान कार्यालयले बन्दोबस्तीका सामानका लागि साउन १२ गते बोलपत्र आह्वान गरेको थियो । झुल, म्याट्रेस, ब्लु डांग्री क्लोथ, जुनियर अफिसर्स पी–क्याप, नाइलन वेब बेल्ट, ट्राफिक रेन सुट, स्नो सुइटर, ब्यान्ड ड्रेस सेट, गगल्स, विसल्ट विथ विसल्ट कर्ड, पाल, ट्राफिक ज्याकेट, इन्सिग्निया बेस, स्नो वुलन भेष्ट र ट्राउजर, गर्भवती महिला युनिफर्म, स्नो गगल्स, क्यामियो चुस्ता, ट्राफिक पी–क्याप, स्नोक्याप, स्नो ग्लभ्स र ट्राफिक रिफ्लेक्टर ज्याकेटका लागि बोलपत्र आह्वान गरेको थियो ।
सीमित ठेकेदार कम्पनीलाई मात्रै टेण्डर पर्न खोजिएको भन्दै कार्यालयमा उजुरी परेको थियो । यस्तै मिलेमतो गरी भ्रष्टाचारसमेत गर्न लागेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा समेत उजुरी परेको थियो ।
यसरी उजुरी प्राप्त गरेपछि अख्तियारले समेत कार्यालयलाई छानिबन गर्न निर्देशन गरेको प्रवक्ता सुवेदीले जानकारी दिए ।