२०८२ श्रावण २७, सोमबार

आज जनै पूर्णिमा

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व ।
आज जनै पूर्णिमा

२४ साउन काठमाडौँ / आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइन्छ । सत्ययुगमा दानव द्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा छ । शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी ब्राह्मण, क्षेत्री, वैश्यले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे समाप्ति को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषि सहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन रहेको छ । आजको दिनलाई नेवार समुदायमा गुन्हुपुन्ही भनि मनाइने चलन रहेको छ । आफ्नो विभिन्न किसिमका स्वरबाट वर्षा र खेतीको बारे कृषकलाई जानकारी दिने भयागुताले गठे मुंगलका दिन नरभक्षी घण्टासूरलाइ बाटो भुलाई खाल्डोमा जाकिदिएकाले नेवार समुदायहरुले जनै पूर्णिमा अर्थात् रक्षा बन्धनको दिन भ्यागुताको पूजा गर्ने र उसलाई खेतमा लगेर खाना खुवाउने चलन रहेको छ । बिशेष गरी यस दिन नेवार समुदायमा क्वाँटी अर्थात नौ थरी गेडा गुडीबाट तयार हुने मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्ला लगायत कम्तीमा नौ थरि गेडागुडी मिसाई भिजाएर टुसा उम्रे पछि क्वाँटी बनाई खाने र आफन्तलाई खुवाउने चलन छ । यसरी बनाएको क्वाटी खानाले शरीरमा रोग नलाग्ने पेट सफा हुने र बर्षाका कारण चिसो भएको शरीरबाट सर्दी बाहिर जान्छ भन्ने विश्वास गरिन्छ ।
––

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस