२७ साउन, काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालबीच एकअर्काविरुद्ध सार्वजनिक आक्षेप नलगाउने भद्र सहमति भएको छ ।
केन्द्रीय कार्यालय आलोकनगरमा अरु नेताहरुसहित भएको छलफलमा एकअर्काविरुद्ध सार्वजनिक आरोप नलगाउन नेपाल र खनाल सहमत भएका हुन् । ‘पार्टीका नेताहरुले विधान र आचार संहिताभित्र रहेर बोल्नुपर्छ, त्यही कुरा भएको हो’ वरिष्ठ नेता वेदुराम भुसालले भने ।
पूर्वप्रधानमन्त्रीहरु नेपाल र खनालले एकअर्कालाई पार्टी छोडेर जानसम्म भनेका थिए । नेता खनालले चार वर्षसम्म विद्रोह पुष्टि हुन नसकेको अन्तर्वार्ता दिएपछि नेपालले पार्टीबाट बिदा हुन सुझाव दिएका थिए ।
नेपालले सार्वजनिक रुपमै पार्टी छोडेर एमालेको सेवा गर्न भनेपछि खनालले पनि चर्को अभिव्यक्ति दिएका थिए । अहिलेसम्म जबज भनिरहेका माधव नेपाललाई उपयुक्त पार्टी एमाले नै भएको प्रतिक्रिया दिएका थिए ।
यसरी एकअर्काविरुद्ध आक्षेप लगाउने क्रम बढेर गएपछि नेताहरु बेदुराम भुसाल, प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसालले माधव र झलनाथलाई छलफलमा राखिरहेका छन् ।
‘हिजो (सोमबार) अढाइ घण्टा जति कुराकानी भयो । धेरै कुरा त पुराना कुराहरु गरेर सकियो’ उनी भन्छन्, ‘अझै पनि ठोस् सहमतिमा पुग्न सकिएको छैन । छलफलहरु भइरहन्छ ।’ सोमबार बिहान ९ बजेदेखि केन्द्रीय कार्यालय आलोकनगरमा छलफल भएको थियो ।
यस्तै छलफल शनिबार बिहान पनि भएको थियो । तर माधव नेपाल जनकपुर जानुपर्ने भएकाले स्थगित छलफल सोमबार भयो । यो छलफलमा अध्यक्ष नेपालले खनाललाई अन्तर्वार्ता दिने भन्दा पनि राख्नुपर्ने कुरा बैठकमै उठाउन आग्रह गरेका थिए । ‘अन्तर्वार्ता दिँदै हिँड्दा कुरा झन् बिग्रने भयो, जे भन्नुछ पार्टीको बैठकमै भन्नुस्’ माधवको आग्रह थियो ।
सार्वजनिक अभिव्यक्ति नदिनेमा खनाल सहमत भएको बैठक स्रोत बताउँछ । ‘आफ्नो प्रस्तावमा बैठकमै छलफल हुने भएपछि सार्वजनिक रुपमा नबोल्न झलनाथ खनाल पनि सहमत हुनुभएको छ’ स्रोतले भन्यो ।