२०८२ भाद्र १, आईतबार

नेपाल आइपुगे भारतीय विदेश सचिव

भारतीय विदेशसचिव विक्रम मिस्री नेपाल भ्रमणमा आइतबार काठमाडौँ आइपुगेका छन् ।
नेपाल आइपुगे भारतीय विदेश सचिव

१ भदौ काठमाडौँ /  भारतीय विदेशसचिव विक्रम मिस्री नेपाल भ्रमणमा आइतबार काठमाडौँ आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ अन्तिम साता हुने भनिएको भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुको साथै एजेन्डाको विषयमा छलफल गर्ने बताइएको छ ।

बिहान ९ बजे विशेष विमानबाट आइपुगेका विदेश सचिव मिस्री सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने स्रोतले जनाएको छ ।
१०ः३० प्रधानमन्त्री ओलीलाई भेटिसकेपछि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको बताइको छ । राष्ट्रपति पौडेललाई भेटिसकेपछि सचिव मिस्री सिधै बुढानीलकण्ठ जानेछन् । त्यहाँ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ ।

सभापति देउवालाई भेटिसकेपछि उनी सिधै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जानेछन् । प्रचण्डलाई भेटिसकेपछि परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसँग दुईपक्षीय भेटवार्ता हुने स्रोतले जनाएको छ । सचिव स्तरीय वार्ता सकेपछि सचिव मिस्रीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भेटवार्ता गर्नेछन् ।

त्यसपछि परराष्ट्र सचिव राईले भारतीय विदेश सचिव मिस्रीको सम्मानमा रात्रिभोजको आयोजना गर्ने बताइएको छ । भदौ २ गते सचिव मिश्रीले पशुपतिको दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव राई र मिश्रबीच द्विपक्षीय बैठक बसेर प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा एजेन्डा तय गरिने स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण लम्ब्याउने विषयमा पनि कुराकानी हुने बताइएको छ ।

भदौ ३१ र असोज १ गते गरी दुई दिन भ्रमण गर्ने यसअघि नै तय भएको हो तर छोटो समय भएको भन्दै भारतको तर्फबाट नै भ्रमण लम्ब्याउने तयारी रहेको बताइएको छ । त्यसमा पनि आज छलफल हुने बताइएको छ । भारतको भ्रमणअघि प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने भएका छन् । त्यहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने बताइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस