२७ असोज, काठमाडौं / पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो सातामा ४१३ जनामा डेंगु संक्रमित भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२५ को सुरु अर्थात् गत पुसको मध्यदेखि हालसम्म ५ हजार ८७४ जनामा डेंगु पुष्टि भएको छ ।
७५ जिल्लामा डेंगु संक्रमण फैलिँदा ४ जनाको मृत्यु भएको छ । (ईडीसीडी) को तथ्यांक अनुसार पछिल्लो साता गण्डकीमा सबैभन्दा बढी संक्रमित थपिएका छन् । गण्डकीमा १५१, बागमतीमा १०७, कर्णालीमा ६४, लुम्बिनीमा ३९, सुदूरपश्चिममा ३०, कोशीमा १६ र मधेशमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो । त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए ।