२७ असोज, काठमाडौं / हमासले बन्धक बनाएका २० जनालाई सोमबार रिहा गरेको छ । युद्धविराम सम्झौता अनुसार हमासले सोमबार २० जना बन्धकलाई रेडक्रस मार्फत् इजरायली सेनाको जिम्मा लगाएको बीबीसीले जनाएको छ ।
उनीहरूलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायली सीमा क्षेत्र भएको आक्रमणका क्रममा अपहरण गरेर गाजा पुर्याएको थियो । हमासले २० जना बन्धक रिहा गरेसँगै सम्झौता अनुसार इजरायलले २५० जना प्यालेस्टिनी कैदी र १७०० भन्दा बढी बन्दी रिहा गर्नेछ । हमासले बन्धक रिहा गर्ने सहमतिपछि नेपालका विपिन जोशीको रिहाइ हुने अपेक्षा गरिएको थियो ।
तर, हालसम्म जोशीको अवस्थाबारे यकिन विवरण प्राप्त भएको छैन । उनलाई पनि हमासले २०२३ अक्टोबर ७ मै अपहरण गरेर बन्धक बनाएको थियो ।