२९ असोज, काठमाडौं / नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको छ । २६ असोज दिँउसो २ बजेबाट काउन्सिलको बेवसाइट अनाधिकृत पहुँज भएको काउन्सिलले जनाएको छ ।
काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले डेटा सुरक्षित रहेको र रिकभरी प्रक्रिया पूरा भइसकेको बताए । डा. देवका अनुसार, काउन्सिलको वेबसाइट ह्याक भएको पुष्टि भए पनि महत्वपूर्ण डेटाहरू सुरक्षित छन् ।
‘हाम्रो आइटी टिमले डेटा एक्सट्र्याक्सन भए पनि सेफ रहेको पुष्टि गरेको छ । रिकभरी प्रक्रिया पूरा भइसकेको छ, तर पुरानो सर्भर पुनः प्रयोग गर्न नमिल्ने भएकोले नयाँ सर्भर स्थापना गर्नुपर्ने अवस्था छ,’ डा. देवले भने ।
ह्याकिङको अनुसन्धानका लागि काउन्सिलले साइबर ब्युरोसँग समन्वय गरिरहेको छ । डा. देवले भने, ‘हामीले साइबर ब्युरोलाई जानकारी गराइसकेका छौं । फोरेन्सिक क्लियरेन्स प्राप्त भएपछि मात्र हामी नयाँ सर्भरमा काम सुरु गर्नेछौं ।’
उनले ह्याकरको पहिचान र आइपी एड्रेस ट्रेस गर्ने प्रक्रिया पनि चलिरहेको बताए ।आइटी टिमले हेर्दा ह्याकिङबाट केही फाइलहरू प्रभावित भएको पाएको छ । तर डेटा परिवर्तन वा सम्पादन नभएको दाबी गरिएको छ ।