
पुस ७, क्यानवेरा / अष्ट्रेलिया, न्यूजिल्याण्डलगायत प्यासिफिक क्षेत्रमा रहेका नेपालीलाई अनौपचारिक माध्यमबाट गरिने विप्रेषण कारोबार (हुण्डी) नगर्न नेपाली राजदूतावास क्यानवेराले आग्रह गरेको छ। राजदूतावासले हुण्डी कारोबार असुरक्षित, गैरकानूनी तथा राष्ट्रहितविपरीत हुने स्पष्ट गरेको छ।
सूचनामा अष्ट्रेलिया, न्यूजिल्याण्ड तथा प्यासिफिक क्षेत्रमा रहेका नेपाली व्यक्ति वा संस्थाले नेपालमा रकम पठाउँदा वा नेपालबाट रकम ल्याउँदा अनिवार्य रूपमा बैंकिङ च्यानलको मात्र प्रयोग गर्न अनुरोध गरिएको छ। साथै, कुनै व्यक्ति वा संस्थाले अनौपचारिक च्यानलमार्फत हुण्डी कारोबार गरेको जानकारी भए त्यस्ता व्यक्ति वा संस्थाको विवरण राजदूतावासको इमेल ठेगानामा पठाउन आग्रह गरिएको छ।
हुण्डी कारोबारसम्बन्धी सूचना उपलब्ध गराउने व्यक्तिको विवरण गोप्य राखिने राजदूतावासले जनाएको छ।