
२३ भाद्र रसुवा / बाढीका कारण घरबारविहीन भएका उत्तरगया गाउँपालिका निवासीहरूलाई राहत तथा पुनःस्थापनाका लागि पालिकाले कोठाभाडा र खाद्यान्न उपलब्ध गराउने छलफल संगै तयारी गरेको उपाध्यक्ष चमेलि गुरुङले वताउनु भएकाे छ।
बाढीपीडित तथा घरबारविहीन परिवारलाई रसुवा जिल्लाभित्र कोठा भाडामा बस्नका लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने तथा आवश्यक खाद्यान्नसमेत उपलब्ध गराउने छलफल भएकाे पालिकाले जनाइएको छ।
त्यसैगरी, नुवाकोटको बट्टारस्थित Holding Camp मा रहेका उत्तरगया गाउँपालिका निवासी बाढीपीडितहरूलाई रसुवा ल्याउने आवश्यक व्यवस्थापनसमेत पालिकाले गर्ने बताइएको छ।
बाढीका कारण प्रभावित भएका नागरिकहरूको सुरक्षित पुनःस्थापना र आधारभूत आवश्यकताको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै पालिकाले यस्तो निर्णय गरेको हो।
यसैबीच, बाढीका कारण अभिभावकविहीन वा टुहुरा भएका बालबालिकाको सुरक्षाका विषयमा पनि विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। पालिकाको अनुमति बिना त्यस्ता बालबालिकालाई कसैले पनि अन्यत्र लैजान नपाउने भन्दै सम्बन्धित सबैलाई सचेत गराइएको छ।
प्रभावित बालबालिकाको संरक्षण, सुरक्षा र भविष्यलाई ध्यानमा राख्दै कुनै व्यक्ति वा संस्थाले बालबालिकालाई अन्यत्र लैजानुपरेमा पालिकासँग आवश्यक समन्वय र अनुमति लिनुपर्ने बताइएको छ।
बाढीबाट विस्थापित नागरिकहरूको व्यवस्थापन, सुरक्षित बसोबास तथा राहत वितरणका लागि स्थानीय तहले आवश्यक समन्वय अघि बढाउने जनाएको छ।