
दाङ । दाङको बबई गाउँपालिका–५ स्थित हापुरे बजारमा आगलागी हुँदा एक कस्मेटिक पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ। बुधबार बेलुका करिब ८ बजे स्थानीय खिमबहादुर सोमैले सञ्चालन गर्दै आएको गौरी शृंगार पसलमा आगलागी भएको हो।
प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने बताइएको छ। आगलागीबाट पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। क्षतिको यकिन विवरण भने सार्वजनिक हुन बाँकी छ।
स्थानीयका अनुसार आगलागी भएको दुई घण्टाभन्दा बढी समय बितिसक्दा पनि दमकल घटनास्थलमा पुग्न सकेन। दमकल समयमै नपुग्दा आगो नियन्त्रणमा लिन कठिनाइ भएको थियो।
बाल्टिनमा पानी बोकेर आगो निभाउने प्रयास
दमकल उपलब्ध नभएपछि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बाल्टिनमा पानी बोकेर आगो निभाउने प्रयास गरेका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीको नेतृत्वमा प्रहरी टोलीसमेत घटनास्थलमा खटिएको थियो।
तर आगो ठूलो भएकाले स्थानीयवासी र सुरक्षाकर्मीको प्रयास सफल हुन सकेन। अन्ततः पसलमा रहेका सबै सामान जलेर नष्ट भए।
पश्चिम दाङका चार पालिका दमकलविहीन
पश्चिम दाङका चारवटा स्थानीय तहमा सञ्चालनयोग्य दमकल नहुँदा आगलागीका घटनामा ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ।
यसअघि तुलसीपुर उपमहानगरपालिकासँग रहेको एक मात्र दमकल २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको थियो। त्यसयता नयाँ दमकल खरिद हुन नसकेको विवरणमा उल्लेख छ।
दमकलको अभावमा हापुरे बजारमा आगलागी हुँदा करिब ४६ किलोमिटर टाढा रहेको घोराहीबाट दमकल बोलाउनुपर्ने बाध्यता रहेको छ। तुलसीपुरबाट हापुरे करिब २० किलोमिटर टाढा पर्छ।
दमकलको व्यवस्था गर्न स्थानीयको माग
समयमै दमकल उपलब्ध नहुँदा आगलागी नियन्त्रणमा कठिनाइ हुनुका साथै भौतिक क्षति बढ्ने जोखिम रहने गरेको छ। हापुरे बजारको पछिल्लो घटनाले पश्चिम दाङका स्थानीय तहमा दमकल र आवश्यक आपत्कालीन सेवाको व्यवस्था गर्नुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।
स्थानीयवासीले बजार क्षेत्रमा हुन सक्ने आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायसँग तत्काल दमकलको व्यवस्था गर्न माग गरेका छन्।