
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन्।
कर्णाली याक्समा अनुबन्ध भएका ३७ वर्षीय मिलर बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए।
बायाँहाते मध्यक्रमका ब्याटर मिलर दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीका अनुभवी खेलाडी हुन्। उनले इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग बास लिग र पाकिस्तान प्रिमियर लिगलगायत विश्वका विभिन्न फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका छन्।
आईपीएलमा उनले दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किङ्स इलेभेन पञ्जाब र गुजरात टाइटन्सबाट खेलेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सले आईपीएल उपाधि जित्दा मिलरको प्रदर्शन महत्त्वपूर्ण रहेको थियो।
मिलरले दक्षिण अफ्रिकाबाट १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै २ हजार ८०४ रन बनाएका छन्। जसमा दुई शतक र नौ अर्धशतक समावेश छन्। त्यस्तै, समग्र टी–२० करियरमा ५८४ खेल खेल्दै १२ हजार ४३५ रन बनाएका छन्।
कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनले नेपालको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
शुक्रबार सुदूरपश्चिमसँग प्रतिस्पर्धा
एनपीएलमा कर्णाली याक्सले हालसम्म तीन खेल खेलेको छ। पहिलो खेलमा जनकपुरलाई १९ रनले र दोस्रो खेलमा विराटनगरलाई चार विकेटले पराजित गरेको कर्णाली तेस्रो खेलमा भने काठमाडौं गोर्खाजसँग चार विकेटले पराजित भएको थियो।
तीन खेलबाट दुई जित निकालेको कर्णालीले अब शुक्रबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा मिलर कर्णालीको टोलीबाट मैदान उत्रिने अपेक्षा गरिएको छ।