
१९ कात्तिक, काठमाडौं । जिम्मेवारीबाट हटाइएका नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत जाने भएका छन् ।
कार्की निकट एक कानुन व्यवसायीका अनुसार उनलाई कानुनी आधारबिना पदबाट हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने तयारी गरिएको हो ।
प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ मा गरिएको व्यवस्थाविपरीत कार्कीलाई जिम्मेवारीबाट हटाइएको रिट निवेदनमा जिकिर गरिने तयारी छ । सेवा अवधि, पदावधि र उमेर हदसम्बन्धी कुनै पनि प्रावधानले उनलाई प्रहरी महानिरीक्षक पदबाट हटाउने अधिकार नदिने कार्की पक्षको दाबी छ ।
कार्की २०५४ चैत १८ गते नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी नियमावलीअनुसार प्रहरी महानिरीक्षकको सेवा अवधि ३० वर्ष, उमेर हद ५८ वर्ष र पदावधि चार वर्ष तोकिएको छ ।
२०२९ साउन १५ गते जन्मिएका कार्की हाल ५४ वर्षका छन् । उनी २०८२ कात्तिक २७ गते प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए । नियुक्तिको एक वर्ष नपुग्दै उनलाई जिम्मेवारीबाट हटाइएको हो ।
कार्कीको पक्षबाट सर्वोच्चमा दायर हुने रिटमा नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, वरिष्ठ अधिवक्ताहरू भीमार्जुन आचार्य र गोविन्द बन्दीसहितका कानुन व्यवसायीले बहस गर्ने तयारी गरेका छन् ।
आफूलाई पदबाट हटाउने निर्णय कानुनविपरीत रहेको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतबाट पुनर्बहालीको आदेश माग गर्ने तयारी गरेका हुन् ।