
२० कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार सुनका असर्फी बिक्री नगर्ने भएको छ । मौज्दात सकिएपछि केन्द्रीय बैंकले सुनका असर्फी बिक्री नगर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै बिहीबारदेखि सुनचाँदीका असर्फी तथा मेडालियन बिक्री सुरु गरेको थियो । बिक्री सुरु भएको पहिलो दिन नै कर्मचारीसहित सर्वसाधारणलाई गरी ४ हजार ५०० वटा सुनका असर्फी बिक्री भएको थियो ।
केन्द्रीय बैंकले हरेक वर्ष धनतेरसको अवसरमा सुन तथा चाँदीका सिक्का बिक्री गर्दै आएको छ । गत वर्ष सुनको मौज्दात नभएका कारण चाँदीका मेडालियन मात्रै बिक्री गरिएको थियो । तर, यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग ३५ किलो सुन खरिद गरी सुनका असर्फीसमेत बिक्री सुरु गरेको थियो ।
प्रक्रियागत जटिलता र झन्झटका कारण बिक्रीयोग्य उत्पादन निकै न्यून रहेकाले बिहीबार नै सुनका असर्फी सकिएको राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले जानकारी दिए । सोही कारण शुक्रबार सुनका असर्फी बिक्री नगर्ने निर्णय गरिएको उनले बताए ।
बिहीबार राष्ट्र बैंकले एक व्यक्तिलाई एक थान सुनको असर्फी र दुई थानसम्म चाँदीका मेडालियन बिक्री गरेको थियो । सुनको असर्फी २.५ ग्राम र चाँदीको मेडालियन १० ग्राम तौलका छन् ।
बिहीबार सुनको असर्फी प्रतिथान ६५ हजार ४ सय रुपैयाँ र चाँदीको मेडालियन प्रतिथान ३ हजार ८ सय रुपैयाँमा बिक्री गरिएको थियो ।
शुक्रबार भने चाँदीका मेडालियन मात्रै बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । शुक्रबारका लागि चाँदीको मेडालियनको मूल्य प्रतिथान ३ हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।