
२० कार्तिक, काठमाडौं । डलर साट्ने प्रलोभन देखाएर ठगी तथा लुटपाट गर्दै आएको आरोपमा पक्राउ परेका सुजन तामाङविरुद्ध यसअघि नै ८ वटा मुद्दा दर्ता भएर अनुसन्धान भएको खुलेको छ ।
प्रहरीले २८ वर्षीय तामाङलाई बिहीबार साँझ काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्चाबाट गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार तामाङले ठगी तथा लुटपाटका लागि आफ्नै समूह सञ्चालन गर्दै आएका थिए । उक्त समूहको नेतृत्व सुजनले नै गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का स्थायी बासिन्दा तामाङ गोकर्णेश्वर नगरपालिका–८ मा बस्दै आएका थिए । उनीविरुद्ध स्वयम्भू, महाराजगञ्ज, सातदोबाटो र जिल्ला प्रहरी परिसर भक्तपुरबाट समेत मुद्दा चलेको पाइएको प्रहरीले जनाएको छ ।
गत असोज २३ गते गोकर्णेश्वर नगरपालिका–१२ स्थित लसुनटारमा दुई जनाको साथबाट सुजनको समूहले १६ लाख रुपैयाँ लुटेको थियो । घटनापछि लुटेराहरू जंगलतर्फ भागेको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा सुजनको समूहको संलग्नता खुलेपछि पक्राउ गर्न खोजिएको एसएसपी घिमिरेले बताए ।
पक्राउ गर्ने क्रममा तामाङले चक्कु प्रहार गर्दा एक जना प्रहरी जवान घाइते भएका थिए । त्यसपछि प्रहरीले एक राउण्ड हवाई फायर र एक राउण्ड घुँडामुनि गोली प्रहार गरेर उनलाई नियन्त्रणमा लिएको एसएसपी घिमिरेले जानकारी दिए ।
प्रहरीका अनुसार सुजनको समूहले विभिन्न व्यवसायीलाई फोन गरेर आफूसँग अमेरिकी डलर रहेको र सस्तोमा साटिदिने भन्दै प्रलोभन देखाउने गरेको थियो । उनीहरूले गेस्ट हाउस, रेस्टुरेन्ट, सुन पसल तथा हार्डवेयर पसल सञ्चालकलाई लक्षित गरी ठगीको योजना बनाउने गरेका थिए ।
व्यवसायीहरू नेपाली रुपैयाँ दिएर डलर लिन तयार भएपछि उनीहरूलाई एकान्त स्थानमा बोलाएर डलरको सट्टा कागजको बिटो दिएर रकम लुट्ने गरेको प्रहरीको भनाइ छ ।
एसएसपी घिमिरेका अनुसार डलरको बन्डलको अगाडि र पछाडि वास्तविक अमेरिकी डलर राख्ने तथा बीचमा कागजका पाना वा २० दरका नेपाली नोट राखेर झुक्याउने गरेको पाइएको छ ।
सुजनको समूहले बुढानीलकण्ठ, साँखु र स्वयम्भूलाई मुख्य कार्यक्षेत्र बनाएर लुटपाट गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङको साथबाट केही अमेरिकी डलर र डलरको बन्डल बनाउन प्रयोग गरिने कागजसमेत बरामद गरिएको छ ।
एसएसपी घिमिरेले डलर साट्ने नाममा हुने ठगी लामो समयदेखि जारी रहेको उल्लेख गर्दै गैरकानुनी रूपमा डलर साट्ने प्रलोभनमा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।