२०८३ मंसिर ४, बिहिबार

पहाडबाट तराई झरे पनि फेरिएन महिनावारीसम्बन्धी सामाजिक मान्यता, पढाइदेखि सुरक्षासम्म प्रभावित

तराई झरे पनि हटेन छाउपडी प्रथा, गोठमै रात बिताउन बाध्य किशोरी

कैलाली–कञ्चनपुरमा हटेन छाउपडी प्रथा, गोठमै रात बिताउन बाध्य किशोरी
तराई झरे पनि हटेन छाउपडी प्रथा, गोठमै रात बिताउन बाध्य किशोरी

३ मंसिर, धनगढी । छाउगोठ भन्नेबित्तिकै धेरैको दिमागमा सुदूरपश्चिमको पहाडी जिल्ला अछाम आउँछ । महिनावारी भएका महिलालाई घरबाहिरको असुरक्षित छाप्रोमा राख्ने कुप्रथा अछाममा मात्रै सीमित छैन । पहाडबाट बसाइँ सरेर तराई झरेकाहरूले समेत यो प्रथालाई निरन्तरता दिइरहेका छन् ।

कैलाली र कञ्चनपुरका कतिपय बस्तीमा अहिले पनि महिनावारी भएका महिला तथा किशोरी घरबाहिरका असुरक्षित गोठमा रात बिताउन बाध्य छन् । छाउगोठमा बस्दा सर्प, बिच्छी, किराफट्याङ्ग्रा तथा अन्य जोखिमको डर हुन्छ । त्यसमाथि किशोरीहरूको पढाइ र दैनिक जीवनसमेत प्रभावित भइरहेको छ ।

घरभित्र बस्न नहुने सामाजिक मान्यताका कारण उनीहरू आफ्नै घरमा सुरक्षित रूपमा बस्न पाउने अधिकारबाट वञ्चित छन् ।

कैलालीको गोदावरी नगरपालिका–१२ हलौडेकी १६ वर्षीया प्रियंका विकलाई महिनावारी हुँदा सबैभन्दा बढी डर रातको हुन्छ । जंगलको बीचमा रहेको बस्तीमा घरनजिकै बनाइएको सानो गोठमा एक्लै बस्नुपर्दा उनलाई सर्प, किरा र चोरडाँकुको डर लाग्छ । कतिपय रात डरकै कारण निदाउनसमेत सक्दिनन् । तर परिवार र समाजको मान्यता तोडेर उनी घरभित्र बस्न सक्दिनन् ।

‘हामी गोठमा बस्न चाहँदैनौँ । घरका मान्छे र समाजले मान्दैनन् । बाहिरबाट बिहे गरेर आएका भाउजूहरूले सम्झाए उल्टै गाली खानुपर्छ,’ उनले भनिन् ।

प्रियंकाको घरमा केही वर्षअघि प्रहरी, जिल्ला प्रशासन र वडा कार्यालयको पहलमा छाउगोठ भत्काइएको थियो । तर बस्तीबाट छाउगोठ हटेनन् । उनको घरमा पुनः गोठ नबनाइए पनि महिनावारी हुँदा उनी छिमेकीको गोठमा बस्न बाध्य छिन् ।

वर्षायाममा गोठमा बस्नु झन् कष्टकर हुन्छ । पानी पर्दा छाना चुहिन्छ । ओढ्ने, ओछ्याउनेदेखि लत्ताकपडासम्म भिज्छन् । सुरक्षित र सहज ठाउँमा बस्न पाउने अधिकारबारे जानकार भए पनि सामाजिक दबाबका कारण उनीहरू आफ्नै घरमा बस्न सकिरहेका छैनन् । अहिले चिसो बढेसँगै छाउगोठमा बस्ने महिलाको समस्या थप कठिन बनेको छ ।

सोही गाउँकी १५ वर्षीया नन्दा साउदको समस्या पनि उस्तै छ । महिनावारी हुँदा गोठमा बस्नुपर्ने बाध्यताले उनको पढाइ प्रभावित भएको छ । गोठमा बत्ती हुँदैन । किताबकापी राख्ने ठाउँसमेत हुँदैन । पानी पर्दा गोठ चुहिने भएकाले किताबकापी भिज्छन् । होमवर्क गर्न नपाउँदा विद्यालयमा शिक्षकको गाली खानुपर्ने अवस्था छ ।

‘गोठमा बत्ती हुँदैन, किताबकापी राख्ने ठाउँ पनि हुँदैन । पानी परेको दिन चुहिन्छ, किताबकापी भिज्छन् । होमवर्क गर्न पाइँदैन, पढ्न पनि मिल्दैन । होमवर्क छुटेको दिन स्कुलमा गाली खानुपर्छ,’ नन्दाले भनिन् ।

छाउगोठमा बस्दा हुन सक्ने हिंसा र असुरक्षाको पनि उनलाई डर छ । समाचारमा किशोरीमाथि भएका हिंसाका घटना सुनेकी उनले आफू पनि असुरक्षित हुन सक्ने चिन्ता व्यक्त गरिन् ।

महिनावारी हुँदा घरभित्र बसेमा देउथली जग्गा अशुद्ध हुने, छुइछाइ भए सर्प देखिने र माटो बिग्रिने जस्ता अन्धविश्वास अझै कायम छन् ।

कैलालीको गोदावरी नगरपालिका–१२ हलौडे चुरेको फेदीमा रहेको बस्ती हो । यहाँ पहाडी जिल्ला अछामबाट बसाइँ सरेर आएका परिवारको बसोबास छ । यहाँका धेरै पुरुष रोजगारीका लागि भारत जाने गरेका छन् । तराईमा बसाइँ सरे पनि उनीहरूले महिनावारीसम्बन्धी पुराना सामाजिक मान्यता भने छाड्न सकेका छैनन् ।

सोही ठाउँकी गंगा नेपालीका अनुसार गाउँमा अहिले पनि महिनावारी भएका महिलालाई घरभित्र बस्न दिइँदैन । छाउगोठको विरोध गर्ने महिला तथा किशोरीहरू भए पनि उनीहरूको आवाजले मात्रै सामाजिक व्यवहार परिवर्तन हुन सकेको छैन ।

‘सामान्य छाप्रोमा बस्न गाह्रो छ । घरभित्र त बस्न पाइँदैन । महिनावारी भएको बेला बस्नका लागि आवश्यक सुविधा भएको सामुदायिक भवन गाउँमा निर्माण भए पनि सहज हुन्थ्यो,’ उनले भनिन् ।

नेपालीका अनुसार महिलाहरूले महिनावारी भएको समयमा सुरक्षित ठाउँमा बस्न पाउनुपर्ने माग गर्दै आएका छन् । छाउगोठ हटाउने अभियान सञ्चालन भए पनि व्यवहारमा परिवर्तन आउन सकेको छैन ।

विवाहपछि छाउगोठको वास्तविकता भोगिन् अनिताले

दोलखाकी अनिता कार्कीलाई विवाह गरेर कैलाली आएपछि मात्रै छाउगोठको वास्तविक अनुभव भयो । नौ वर्षअघि फेसबुकमार्फत कैलालीका एक युवकसँग चिनजान भएपछि उनी प्रेममा परिन् । पछि विवाह गरेर श्रीमान्को घर आइपुगिन् ।

माइतीमा महिनावारी हुँदा चुलोछेउमै खाना खान र घरभित्रै बस्न पाउने अनिताले विवाहपछि भने बिल्कुलै फरक व्यवहार भोग्नुपर्‍यो । विवाहपछि पहिलोपटक महिनावारी हुँदा उनी पनि छाउगोठमा बस्नुपर्ने भयो ।

पाँचवटा खम्बामा टिनको छाना लगाएर बनाइएको गोठमा एकजना मात्रै अटाउँथ्यो । खुट्टा तन्काएर सुत्न नमिल्ने र निहुरिएर भित्र पस्नुपर्ने अवस्था थियो । भुइँमा ओछ्याउन पराल र ओढ्न पातलो कपडा दिइएको थियो ।

पहिलो रात उनले मोबाइलको उज्यालोमा बिताइन् । घरको कोठामा श्रीमान् आरामले सुतिरहेको सम्झिँदा आफू अन्यायमा परेको महसुस भएको उनले सुनाइन् ।

‘रातभरि रोएँ । आमाबाबाको याद आयो । आफूचाहिँ मजाले कोठामा बस्ने, मैले भने यसरी बस्नुपर्‍यो भनेर श्रीमान् देखेर रिस उठ्यो,’ उनले भनिन् ।

अनिताले श्रीमान्सँग गोठमा नबसी घरभित्रै बस्न पाउनुपर्ने प्रस्ताव पनि राखेकी थिइन् । तर श्रीमान्ले परिवार र समाजको चलनविरुद्ध आफूले केही गर्न नसक्ने जवाफ दिएपछि उनी चुप लागिन् ।

माइतीमा छाउगोठबारे समाचारमा मात्रै पढेकी अनितालाई अहिले आफैँ गोठमा बस्नुपर्दा समाजको वास्तविकता बुझ्न कठिन भएको छ ।

‘छाउगोठ समाचारमा देखेकी थिएँ, अहिले आफैँले बस्नुपर्‍यो,’ उनले भनिन् ।

यो अवस्था कहिल्यै परिवर्तन हुँदैन कि भन्ने उनलाई लाग्छ ।

‘समाज परिवर्तन होला भनेर पर्खिएकाहरूलाई गाह्रो छ । राम्रो कुरा गरे पनि खुट्टा तान्नेहरू छन् । एक–दुई महिलाले बोलेरमात्रै कहाँ परिवर्तन गर्न सकिन्छ,’ उनले भनिन् ।

गोठ भत्किए, तर सोच बदलिएको छैन

छाउपडी प्रथा अन्त्यका लागि सरकारले विभिन्न समयमा अभियान सञ्चालन गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय तहले छाउगोठ भत्काउने अभियानसमेत चलाएका छन् । तर भौतिक संरचना भत्काएर मात्रै सामाजिक कुप्रथा अन्त्य नहुने अनिताको भनाइ छ ।

कैलाली र कञ्चनपुरका कतिपय बस्तीमा घरनजिकै छाउगोठ बनाइएका छन् । कतिपय परिवारले आफ्ना घरका गोठ भत्काए पनि महिनावारी हुँदा छिमेकीको गोठ प्रयोग गर्ने गरेका छन् ।

छाउगोठमा बसिरहेका बेला कतिपय किशोरी तथा महिलाले ज्यानसमेत गुमाएका छन् । सरकारी अभियान र भौतिक संरचना भत्काउने प्रयासका बाबजुद सामाजिक सोच र व्यवहारमा परिवर्तन आउन नसक्दा महिनावारी भएका महिला तथा किशोरीहरू अझै असुरक्षित गोठमा रात बिताउन बाध्य छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस