२०८३ मंसिर ४, बिहिबार

एकै दिन १ हजार ४०० बचतकर्ताको विवरण रुजु, बकपत्रका लागि अदालत पुग्दै पीडित

शिवशिखर सहकारीका बचतकर्ताको कैलाली अदालतमा भीड, रकम फिर्ता पाउने आशा

शिवशिखर सहकारीका बचतकर्ताको कैलाली अदालतमा भीड, १० अर्ब रकम फिर्ताको आशा
शिवशिखर सहकारीका बचतकर्ताको कैलाली अदालतमा भीड, रकम फिर्ता पाउने आशा

३ मंसिर, धनगढी । शिवशिखर सहकारीमा बचत गरेको रकम फिर्ता पाउने आशासहित कैलाली र कञ्चनपुरका एक हजारभन्दा बढी बचतकर्ता जिल्ला अदालत कैलाली पुगेका छन् । सहकारीमा बचत गरेको रकम डुबेका पीडितहरू बकपत्रका लागि अदालत पुगेका हुन् ।

कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार बुधबार मात्रै एक हजार ४०० बचतकर्ताको विवरण रुजु गरेर अदालत पठाइएको थियो । जिल्ला प्रहरी कार्यालयमा नाम रुजु गराउने र त्यसपछि बकपत्रका लागि अदालत पुग्ने बचतकर्ताको बुधबार ठूलो भीड लागेको थियो ।

सहकारीमा करिब २३ लाख रुपैयाँ बचत गरेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५, गुलरियाका प्रेमराज भट्ट बकपत्रका लागि अदालत पुगे पनि भीडका कारण बुधबार पालो नआएपछि अर्को मिति लिएर फर्किएका छन् ।

‘सुरुमा जिल्ला प्रहरी कार्यालय गएर आफ्नो नाम रुजु गराएँ । त्यसपछि बकपत्रका लागि अदालत पुगेको थिएँ । यहाँ धेरै भीड भएकाले आज पालो आएन,’ भट्टले भने, ‘अब ८ गतेका लागि बोलाइएको छ । अरूलाई पनि यसरी नै तारेख दिइएको छ ।’

अदालतको प्रक्रियाबाट आफ्नो बचत रकम फिर्ता पाउनेमा उनी आशावादी छन् ।

जिल्ला अदालत परिसरमा भेटिएका लम्कीचुहाका अर्का पीडित रणबहादुर भण्डारी पनि प्रहरी कार्यालयले जारी गरेको सूचनाका आधारमा बकपत्रका लागि पुगेका थिए । सहकारीले ठगी गरेको रकम फिर्ता पाउने आशा पलाएको उनले बताए ।

अदालतमा साक्षीका रूपमा हस्ताक्षर गरेको बताउने भण्डारीले पीडित बचतकर्ताले साँवा र ब्याजसहित रकम फिर्ता पाउनुपर्ने माग गरे ।

‘गाउँमा सानो खुद्रा पसल गरेर जीविकोपार्जन गर्ने हामीजस्ता सर्वसाधारणलाई बचतका नाममा ठगी गरिएको छ,’ उनले भने, ‘अहिले साँवा रकमसमेत नपाउने अवस्था छ । बैंकको ब्याजदरअनुसार सबै रकम फिर्ता हुन्छ भन्ने आशा जागेको छ ।’

डीएसपी तिमिल्सिनाका अनुसार जिल्ला अदालतले उपलब्ध गराएको सूचीका आधारमा बचतकर्तालाई बकपत्रका लागि बोलाइएको हो । बचतकर्तालाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराएर नाम रुजु गरेपछि सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत पठाउने गरिएको उनले बताए ।

‘बुधबार मात्रै करिब एक हजार ४०० बचतकर्ताको विवरण रुजु गरेर अदालत पठाइएको छ,’ उनले भने ।

शिवशिखर सहकारीमा देशभरका सर्वसाधारणले बचत गरेको झन्डै १० अर्ब रुपैयाँ फसेको छ । यो नेपालको सबैभन्दा ठूलो सहकारी ठगी प्रकरणमध्ये एक हो ।

अदालतले पीडित बचतकर्तालाई बकपत्रका लागि बोलाएपछि लामो समयदेखि आफ्नो बचत रकम गुमाएका उनीहरूमा रकम फिर्ता पाउने आशा पलाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस