
७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महाकाली नदीमाथि निर्माण भएको ११० मिटर लामो मोटरेबल पुल संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको छारछुम जोड्ने गरी निर्माण गरिएको पुल उद्घाटन गरिएको हो । उद्घाटनका अवसरमा स्थानीय स्तरमा पुललाई सजाएर राखिएको थियो ।
पुल निर्माणको सम्पूर्ण लागत भारत सरकारले बेहोरेको हो । तत्कालीन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ३ असोज २०८० मा पुलको शिलान्यास गरेका थिए ।
भारतीय निर्माण कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड, पन्जाबले ३२ करोड ९८ लाख भारुमा पुल निर्माण गरेको हो ।
पुल सञ्चालनमा आएसँगै नेपाल र भारतबीच आवागमन थप सहज हुने अपेक्षा गरिएको छ । पुलसँगै नेपालतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालय स्थापना गरी सञ्चालन गर्ने तयारी गरिएको छ ।
दार्चुला तथा आसपासका पहाडी क्षेत्रलाई भारतसँग सिधै जोड्ने यो संरचना पर्यटन, स्थानीय अर्थतन्त्र र नागरिकस्तरको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण हुने विश्वास दुवै देशले लिएका छन् ।