
७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग घोषणा गरेको छ । तर उक्त सहयोगमध्ये कति सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) र कति अनुदान हो भन्ने खुलाइएको छैन ।
नेपालले भारतसँग २ खर्ब भारु आर्थिक सहयोग माग गरेको थियो । त्यसमा १ खर्ब भारु सहुलियतपूर्ण ऋण र १ खर्ब भारु अनुदान उपलब्ध गराउन अनुरोध गरिएको थियो । भारतले नेपालले माग गरेअनुसार नै सहयोग घोषणा गरेको हो ।
नेपालले अनुदानमध्ये ५० अर्ब भारु रसुवा बाढीपछिको पुनर्निर्माणमा खर्च गर्ने प्रस्ताव गरेको थियो । त्यस्तै, बुटवल–पोखरा एक्सप्रेस वे निर्माणका लागि थप ५० अर्ब भारु सहयोग मागेको थियो । तर, भारतले कुन परियोजनाका लागि कति रकम उपलब्ध गराउने भन्ने विषय भने स्पष्ट पारेको छैन ।
भारतले नेपालका लागि यसअघि चारवटा लाइन अफ क्रेडिट घोषणा गरिसकेको छ । नेपालले भने दुई वर्षअघि, अर्थात् २०८१ सालमा ९० करोड अमेरिकी डलर बराबरको लाइन अफ क्रेडिट रद्द गरेको थियो ।
यसअघि सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा १ अर्ब अमेरिकी डलर सहयोग घोषणा गरेका थिए । सन् २०१५ मा नेपालमा ठूलो भूकम्प गएपछि उक्त सहयोगलाई भूकम्पपछिको पुनर्निर्माणमा उपयोग गर्ने गरी रूपान्तरण गरिएको थियो ।
त्यसमध्ये २५ करोड अमेरिकी डलर अनुदान र ७५ करोड अमेरिकी डलर ऋणका रूपमा छुट्याइएको थियो । २५ करोड डलर अनुदान भूकम्पपछिको पुनर्निर्माणमा खर्च भए पनि ७५ करोड डलर लाइन अफ क्रेडिटमध्ये ५ करोड डलर मात्रै उपयोग हुन सकेको थियो ।
भारतको लाइन अफ क्रेडिटबाट निर्माण हुने आयोजनामा ७५ प्रतिशत भारतीय वस्तु तथा सामग्री नै उपयोग गर्नुपर्ने प्रावधानका कारण भारतले घोषणा गरेको ऋणमध्ये करिब ८५ अर्ब भारु उपयोग हुन नसकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
‘भारतले पहिल्यै प्रतिबद्धता गरेको ९० करोड डलर खर्च हुन नसकेपछि नेपालले २०२४ मा रद्द गरेको थियो । त्यसमा १० करोड डलर हाराहारी थपेर १ खर्ब भारुको एलओसी घोषणा होस् भन्ने हाम्रो अनुरोध थियो । त्यसमा भारत सहमत हुन्छ होला । तर, अनुदान रकम भने कम गरेर मात्रै सहमति भयो,’ स्रोतले भन्यो ।