२०८२ अषाढ ८, आईतबार

चीनमा बनेको लडाकु विमान प्रयोग गरेर भारतका पाँच ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

पाकिस्तानले चीनमा बनेको विमानको प्रयोग गरेर बुधबार पाँच भारतीय लडाकु विमान खसालेको खुलासा गरेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २५, बिहिबार
चीनमा बनेको लडाकु विमान प्रयोग गरेर भारतका पाँच ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

२५ वैशाख काठमाडौँ / पाकिस्तानले चीनमा बनेको विमानको प्रयोग गरेर बुधबार पाँच भारतीय लडाकु विमान खसालेको खुलासा गरेको छ ।

जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जबाफमा भारतले बुधबार बिहानै पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो । त्यस क्रममा भारतका पाँचवटा लडाकु विमान खसालेको दाबी पाकिस्तानले गरेको थियो । पाँचमध्ये तीनवटा फ्रान्समा निर्मित रफाल, एउटा रूसमा निर्मित मिग–२९ र अर्को पनि रूसमै बनेको सुखोइ सु–३० भएको उसको दाबी थियो ।

लडाकु विमान खसालेको पाकिस्तानी दाबीबारे भारतले प्रतिक्रिया दिएको छैन। स्वतन्त्र पुष्टि हुन पनि बाँकी छ । तर एक भारतीय अधिकारीले तीन विमान दुर्घटना भएको पुष्टि गरेको तर त्यसको कारण प्रस्ट नभएको जनाए भनेर ’द न्यूयोर्क टाइम्स’ ले बुधबार नै लेखेको थियो । दुई अरू भारतीय सुरक्षा अधिकारीले पनि केही लडाकु विमान खसालिएको भनेको तर विस्तृत केही नभनेको भनेर टाइम्सले उल्लेख गरेको थियो ।

बिहीबार भने पाकिस्तानी विदेश मन्त्री इशाक डारले चीनमा निर्मित जे–१० सी लडाकु विमानको प्रयोग गरेर भारतका ती पाँचवटा लडाकु विमान खसालेको खुलासा गरे भनेर विभिन्न अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् ।

डारले चिनियाँ जे–१०सी लडाकु विमानको प्रयोग गरेर भारतका पाँचवटा लडाकु विमान खसालेको बारे पाकिस्तानी संसदलाई बुधबार राति नै जानकारी गराएका थिए ।
पाकिस्तानले आफ्नो सैन्य कारबाही सकिनेबित्तिकै त्यसबारे चीनलाई तुरून्तै जानकारी गराएको पनि डारले बताएका छन् । उनका अनुसार पाकिस्तानका लागि चिनियाँ राजदूत जियाङ जैडोङले बुधबार बिहान चार बजे (पाकिस्तानी समय) नै पाकिस्तानी विदेश मन्त्रालयको भ्रमण गरेका थिए ।

’अपरेसन सिन्दुर’ नाम दिइएको भारतीय सैन्य कारबाही भारतीय समयअनुसार बिहान १ः०५ देखि साढे १ बजेसम्म चलेको भारतले जनाएको छ । यसको मतलब भारतीय आक्रमण सकिएको तीन घण्टामै चिनियाँ राजदूतले पाकिस्तानी विदेश मन्त्रालयको भ्रमण गरेका हुन् ।

चीनले भने अहिलेसम्म आफूले बनाएको लडाकु विमान प्रयोग गरेर भारतीय विमान खसालेको बारे केही टिप्पणी गरेको छैन । विगतमा अमेरिकी हतियार प्रयोग गर्ने पाकिस्तान पछिल्ला वर्षमा अमेरिकासँग टाढिँदै गएकाले चीनका हतियार प्रयोग गर्न थालेको छ । पाकिस्तानले विगत पाँच वर्षमा करिब ८१ प्रतिशत हतियार चीनबाट किनेको मानिन्छ ।

हाल जेलमा रहेका इमरान खान प्रधानमन्त्री भएको बेला सन् २०२२ मा पाकिस्तानले चिनियाँ जे–१०सी लडाकु विमान वायु सेनामा प्रयोग गर्न थालेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस