
माघ २६, नेपालगञ्ज / बाँकेमा इजाजत प्राप्त ७५ थान हातहतियार प्रहरी समक्ष बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरी मातहतका इलाका प्रहरी कार्यालय, प्रहरी चौकीलगायत स्थानमा आजसम्म ती हातहतियार बुझाइएको जानकारी दिए । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, बाँकेले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको थियो । बुझाइएका हातहतियारमा भरुवा बन्दुक बारबोरलगायत रहेका छन् ।
यसैबीच बाँकेमा मतदाता शिक्षाका गाउँगाउँ पुर्याइने तयारी गर्न थालिएको छ । प्रतिनिधिसभा सदस्य २०८२ का निम्ति जिल्लामा रहेका आठ स्थानीय तहमा अधिकृत तहका कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर मतदाता शिक्षाका लागि गाउँगाउँ पुर्याउन थालिएको हो । बाँकेका निर्वाचन अधिकारी टेकबहादुर शाहीले मतदाता शिक्षाका लागि स्थानीय तहमा स्वयंसेवक परिचालन गर्न पत्राचार भइसकेको जानकारी दिँदै मतदाता शिक्षाका लागि जिल्लाका ८१ वडामा ८१ जना स्वंयसेवक परिचालन हुने बताए ।