
१० मंसिर, पोखरा । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका ढकबहादुर नेपाली अझै अस्पतालको भेन्टिलेटरमा छन् । उनको स्वास्थ्य अवस्था र थप उपचारको सम्भावना बुझ्न बल्ल केन्द्र सरकारको उच्चस्तरीय टोली पोखरा पुगेको छ ।
भदौ २३ गते पोखराको गैह्रापाटनमा गोली लागेर घाइते भएका नेपालीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि उपचार भइरहेको छ । उनको घाँटीमुनिका अंग चल्दैनन् । स्वास्थ्यमा उल्लेख्य सुधार नआएपछि परिवारले थप उपचारका लागि भारत वा अन्यत्र लैजान सकिन्छ कि भन्ने आशा राख्दै आएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलगायत सरकारी निकायका प्रतिनिधि, उपचारमा संलग्न चिकित्सक र परिवारका सदस्यबीच बुधबार छलफल भएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए ।
सरकारी टोलीले नेपालीलाई थप उपचारका लागि भारत लैजान सकिने सम्भावनाबारे चासो राखेको उनले बताए ।
‘अस्पतालमा उपचाररत उहाँलाई थप अन्य केही उपचार गरेर कतै वा इन्डिया लगेर पनि केही हुन्छ कि भनेर केन्द्रबाट टोली आउनुभएको थियो,’ उनले भने, ‘सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएर के गर्न सकिन्छ भनेर हेरेको हो ।’
तर उपचारमा संलग्न विशेषज्ञ चिकित्सकहरूले अस्पतालमा थप उपचार गर्दा स्वास्थ्यमा उल्लेखनीय सुधार हुने सम्भावना नरहेको बताएका छन् । चिकित्सकहरूले थेरापी लगायतका विधि प्रयोग गरी आवश्यक उपकरण र सुविधा घरमै व्यवस्थापन गरेर दीर्घकालीन पुनःस्थापना स्याहार गर्न उपयुक्त हुने सुझाव दिएका छन् ।
तत्काल घर लैजान सकिने अवस्था नभए पनि स्वास्थ्यमा केही सुधार भएपछि घरमै भेन्टिलेटर र आवश्यक स्वास्थ्य सेवासहित उपचार गर्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको छ ।
सरकारी टोली पोखरा पुगेपछि थप स्तरीय उपचार हुने आशा पलाएको भए पनि चिकित्सकहरूको सुझावपछि परिवारको मनोबल कमजोर बनेको ढकबहादुरकी माइजु राधा बयलकोटी नेपालीले बताइन् ।
‘यत्रो समयपछि केन्द्रबाट टोली आएपछि हामी उत्साही थियौं । उनीहरूले इन्डियासम्म हामी उपचार गर्न लान्छौँ भन्ने कुरा गरेका थिए,’ उनले भनिन्, ‘तर डाक्टरहरूले हामीले गर्नुपर्ने सबै उपचार र सर्जरी गरिसक्यौँ, अब उपचार त जहाँ लगे पनि यति नै हो भनेपछि झन् आत्मबल कमजोर भयो ।’
चिकित्सकहरूले स्वास्थ्य अवस्था बिग्रन नदिने मात्रै विकल्प रहेको बताए पनि परिवारले थप उपचारको सम्भावना खोज्न नछाडेको उनले बताइन् ।
‘राज्यले दिने सुविधा दिएसम्म अझै प्रोफेसनल डाक्टरहरूसँग सल्लाह गर्न पाएको भए भन्ने लागेको छ,’ उनले भनिन्, ‘हामी अझै पनि थप उपचारका लागि इन्डिया वा अन्यत्र सम्भव छ कि भनेर बुझिरहेका छौँ ।’
आन्दोलनका क्रममा ढकबहादुरको बायाँ छातीको छेउबाट गोली लागेको थियो । हेल्मेट लगाएका कारण ज्यान जोगिए पनि मेरुदण्डमा गम्भीर चोट लागेकाले स्वास्थ्यमा सुधार आउन नसकेको परिवारले जनाएको छ ।
ढकबहादुरको घाँटीमुनिको भाग चल्दैन र स्पर्शसमेत थाहा हुँदैन । घाँटीभन्दा माथिको चेतना र होस भने पूर्ण रूपमा छ । हात नचल्ने भएकाले अरूले मोबाइल चलाइदिँदा उनी हेर्छन् र परिवारसँग दोहोरो कुराकानी गर्छन् ।
आफ्नो अवस्था सम्झेर उनी दिनहुँ भक्कानिने गरेको माइजु राधाले सुनाइन् ।
‘उहाँ दोहोरो गफ गर्नुहुन्छ, तर दिनभरिमा गुनासो त्यही हुन्छ कि म यस्तो भएँ, किन गएँ होला है माइजु भन्दै रुनुहुन्छ,’ ढकबहादुरलाई उद्धृत गर्दै राधाले भनिन्, ‘हामीले गइसकेको कुरामा पछुताएर काम छैन, नरोऊ भनेर सम्झाउने गरेका छौँ ।’
घाइते भएपछि सुरुमा पोखरामै उपचार गरिएको थियो । त्यसपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो । झन्डै दुई महिनापछि पोखरा नै फर्काइएको परिवारले जनाएको छ ।
काठमाडौंमा आफन्त र इष्टमित्र कोही नहुँदा आमा र बिरामी दुवै आत्तिन थालेपछि परिवारलाई पायक पर्ने गरी पोखरा ल्याइएको थियो । घाइते भएको सात महिनापछि मात्र ढकबहादुरले नागरिकता पाएका थिए ।
सरकारले उपचार निःशुल्क भने पनि बाहिरबाट कतिपय औषधि किन्नुपर्ने, कुरुवा बस्नुपर्ने र बिरामीका इच्छाअनुसार खानेकुरा जुटाउँदा परिवारको ठूलो रकम खर्च भइसकेको परिवारको गुनासो छ ।
बुधबार भएको अन्तरक्रिया बैठकमा आन्दोलनका घाइतेहरूको उपचारलाई प्रभावकारी बनाउने र अस्पतालबाट सञ्चालन भइरहेको जेनजी क्लिनिकको सेवा थप व्यवस्थित बनाउने निर्णयसमेत गरिएको छ ।
छलफलमा संघीय सांसद बिना गुरुङ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. नारायणसिंह गुरुङ, प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, गृह मन्त्रालयका उपसचिव गोकर्णराज सुयल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी प्रकृति ढकाल, उपसचिव धनेश्वर पौडेल, प्रतिष्ठानका डिन डेविड श्रेष्ठ र निर्देशक झपिन्द्र पोखरेललगायत सहभागी थिए ।
त्यस्तै, उपचारमा संलग्न चिकित्सकहरू डा. अशिम गुरुङ, डा. सन्तोष बानियाँ, डा. राजनकुमार शर्मा र डा. विपिन कार्कीलगायतसँग सरकारी टोलीले उपचारको अवस्थाबारे जानकारी लिएको थियो ।
सरकारी टोलीले थप उपचार, घरमै आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापन तथा दीर्घकालीन पुनःस्थापनाका विषयमा परिवारसँग छलफल गरेको छ । परिवार भने ढकबहादुरको अवस्थामा सुधार आउने थप सम्भावना खोज्दै सरकारबाट सहयोगको अपेक्षामा छ ।