
१० मंसिर, काठमाडौं । पूर्वमुख्य सचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ । उनलाई भारतको कोलकाताबाट पक्राउ गरी स्थलमार्ग हुँदै नेपाल प्रवेश गराएर हवाईमार्गबाट काठमाडौं ल्याइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
काठमाडौं ल्याइएपछि अर्याललाई विमानस्थलबाट सीधै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको थियो ।
अहिले उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने तयारी भइरहेको स्रोतले जनाएको छ ।
मलेसियामा कामदार पठाउँदा अवैध रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् ।
यसअघि यही प्रकरणमा तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन् ।
उनीहरूमाथि ठगी तथा संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।