२०८३ मंसिर ११, बिहिबार

जेनजी घाइते लक्ष्मण नेपाली

१५ महिनादेखि भेन्टिलेटरमा लक्ष्मण, परिवारको पीडामा बल्ल सरकारको चासो

१५ महिनादेखि भेन्टिलेटरमा लक्ष्मण, परिवारको पीडामा बल्ल सरकारको चासो
१५ महिनादेखि भेन्टिलेटरमा लक्ष्मण, परिवारको पीडामा बल्ल सरकारको चासो

१० मंसिर, पोखरा । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका पोखराका लक्ष्मण (ढकबहादुर) नेपाली १५ महिनादेखि अस्पतालको भेन्टिलेटरमा छन् । उनको उपचारमा उल्लेख्य सुधार नआएपछि परिवारले आर्थिक तथा मानसिक संकट झेलिरहेको छ । बल्ल सरकारले उनको अवस्था बुझ्दै घरमै उपचारको व्यवस्था मिलाउने पहल थालेको छ ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा पोखराको गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय कास्कीमा डोजरसहित ठूलो समूह प्रवेश गर्न खोज्दा प्रहरीले गोली चलाएको थियो । त्यस क्रममा गोली लागेर घाइते भएका लक्ष्मणलाई तत्काल अस्पताल पुर्‍याइएको थियो ।

मादी गाउँपालिका घर भई पोखरा–१३ मा बस्दै आएका १८ वर्षीय लक्ष्मणको घाँटीको मेरुदण्डमा गोली लागेको थियो । गोली घाँटीमा अड्किएपछि उनलाई तत्काल भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । भदौ २९ गते राति उनको घाँटीबाट गोली निकालिएको थियो । तर, गोली लागेका कारण स्पाइनल कर्डमा चोट पुगेपछि घाँटीभन्दा तलका अंग चल्न छाडेका छन् ।

पोखरामा उपचार गर्दा सुधार नभएपछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको थियो । करिब दुई महिना काठमाडौंमा उपचार गर्दा पनि अवस्थामा उल्लेख्य सुधार नआएपछि फेरि पोखरा ल्याइएको थियो । त्यसयता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्टिलेटरमै राखेर उपचार भइरहेको छ ।

अहिले लक्ष्मण कहिलेकाहीँ बोल्न र आफ्ना कुरा राख्न सक्ने अवस्थामा छन् । तर, घाँटीभन्दा तलका अंग चल्दैनन् । चिकित्सकका अनुसार उनको अवस्थामा पूर्ण सुधार हुने सम्भावना अत्यन्त न्यून छ ।

१५ महिनादेखि अस्पतालमै, परिवारको भविष्य अन्योलमा

लक्ष्मण लामो समयदेखि अस्पतालमा भेन्टिलेटरमा रहँदा परिवारले ठूलो मानसिक र आर्थिक समस्या सामना गरिरहेको छ । आमा, दिदी र बहिनीको सम्पूर्ण ध्यान उनको उपचार र हेरचाहमा केन्द्रित हुँदा परिवारको दैनिकीसमेत प्रभावित भएको छ । लक्ष्मणका बुबा विदेशमा छन् ।

परिवारले लामो समयदेखि सरकारसँग सहयोग माग्दै आएको थियो । अस्पतालमै निरन्तर उपचार गराउन कठिन र घरमा लैजान पनि आवश्यक व्यवस्थापन नहुँदा उनीहरू अन्योलमा थिए ।

लक्ष्मणकी दिदी लक्ष्मी नेपाली होटल म्यानेजमेन्टमा प्लस टु उत्तीर्ण हुन् । भाइको उपचार र हेरचाहमा समय बिताउनुपर्दा आफ्नो भविष्यसमेत अन्योलमा परेको उनले बताइन् ।

‘अब सधैं यस्तो अवस्था नै रहने हो भने कसरी व्यवस्थापन गर्ने ? कसरी परिवार पाल्ने ? कसरी भविष्य बनाउने ?’ भन्दै उनले सरकारी टोलीसँग पीडा सुनाइन् ।

उनले भाइलाई भारतसम्म लगेर भए पनि आफैं सास फेर्न र सामान्य काम गर्न सक्ने अवस्थामा पुर्‍याउन पहल गरिदिन सरकारसँग आग्रह गरेकी छन् ।

चिकित्सक भन्छन्– सुधार हुने सम्भावना निकै कम

लक्ष्मणको उपचारमा संलग्न चिकित्सक डा. राजनकुमार शर्मा र डा. विपिन कार्कीका अनुसार लामो समयदेखि उपचार भइरहे पनि अब स्वास्थ्यमा उल्लेख्य सुधार हुने सम्भावना निकै कम छ ।

चिकित्सकका अनुसार नेपालमा उपलब्ध उपचार विधि र प्रक्रिया अपनाइसकिएको छ । थप उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालसमेत लगेर प्रयास गरिएको थियो । तर, अपेक्षित सुधार हुन सकेन ।

चिकित्सकहरूले लामो समय आईसीयूमा राख्दा संक्रमणको जोखिमसमेत बढ्ने भएकाले अब घरमै आवश्यक उपकरण, भेन्टिलेटर र नर्ससहितको व्यवस्थापन गरेर उपचार अघि बढाउनु उपयुक्त हुने सुझाव दिएका छन् ।

बल्ल अस्पताल पुगे सरकारी टोली

१५ महिनादेखि भेन्टिलेटरमा रहेका लक्ष्मणको अवस्था बुझ्न बुधबार सरकारी टोली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको छ ।

गृहमन्त्री सुधन गुरुङको निर्देशनमा गृह मन्त्रालय, स्वास्थ्य विभाग, जेनजी आन्दोलनका शहीद परिवारका प्रतिनिधि, कास्कीकी संघीय सांसद बिना गुरुङ तथा प्रधानमन्त्रीको सचिवालयकी उपसंयोजक प्रकृति ढकालसहितको टोली अस्पताल पुगेको हो ।

प्रधानमन्त्रीको सचिवालयकी उपसंयोजक ढकालले गृहमन्त्रीकै चाहना र निर्देशनअनुसार घाइतेको अवस्था बुझ्न, परिवारको व्यवस्थापनबारे छलफल गर्न र सरकारका तर्फबाट गर्न सकिने पहलका लागि आफूहरू अस्पताल पुगेको बताइन् ।

अस्पतालका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, सांसद तथा परिवारसँग छलफल गरेपछि सरकारी टोलीले लक्ष्मणको उपचार र घरमा आवश्यक व्यवस्थापनका विषयमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ ।

घरमै उपचारको व्यवस्था गर्ने तीनबुँदे सहमति

सरकारी टोली र लक्ष्मणको परिवारबीच छलफलपछि तीनबुँदे सहमति भएको छ । गृह मन्त्रालयका उपसचिव गोकर्णराज सुयालका अनुसार सहमतिमा लक्ष्मणसहित अस्पतालमा उपचाररत जेनजी घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्ने, चिकित्सकको सुझावअनुसार थप उपचारबाट उल्लेख्य सुधार नहुने अवस्थामा आवश्यक थेरापी तथा उपकरण घर वा अस्थायी आश्रयस्थलमा व्यवस्थापन गर्ने र जेनजी घाइतेहरूको उपचारलाई प्रभावकारी बनाउने विषय समेटिएको छ ।

परिवारका सदस्यहरू पनि घरमै आवश्यक उपकरणसहित उपचारको व्यवस्था गर्न सहमत भएका छन् । तर, घरमा भेन्टिलेटर, नर्स तथा अन्य आवश्यक स्वास्थ्य सेवा सरकारले नै उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।

सरकारी टोलीसँगको छलफलपछि लक्ष्मणको उपचार र व्यवस्थापन सहज हुने आशा परिवारले राखेको छ । अस्पतालमा निरन्तर राख्न नसक्ने र घरमा लैजान आवश्यक व्यवस्था नहुँदा संकटमा परेको परिवार अब सरकारी पहलबाट राहत मिल्ने अपेक्षामा छ ।

कास्की क्षेत्र नम्बर ३ की सांसद बिना गुरुङले पनि आफूले पटक–पटक लक्ष्मण र उनको परिवारलाई भेटेर सरकारको ध्यानाकर्षण गराउँदै आएको बताइन् । घाइतेको उपचार र परिवारलाई आवश्यक सहयोगका लागि सहजीकरण गर्न काठमाडौंस्थित सरकारी टोली पोखरा पुगेको उनले जानकारी दिइन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस