
१० मंसिर, सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कर्णाली प्रदेश लिग चरणबाटै बाहिरिएको छ ।
बिहीबार भएको लिग चरणको तेस्रो दिनको खेलमा कर्णाली गण्डकी प्रदेशसँग ५–० को फराकिलो अन्तरले पराजित भएको हो । घरेलु मैदानमा जित्नैपर्ने दबाबमा रहेको कर्णालीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।
यसअघि मंगलबार उद्घाटन खेलमा कर्णाली नेपाल पुलिस क्लबसँग ३–० ले पराजित भएको थियो । लगातार दुई खेलमा हार बेहोरेपछि कर्णालीको प्रतियोगितामा अघि बढ्ने सम्भावना समाप्त भएको हो ।
गण्डकीका लछु थापाले खेलको १६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि आशिष गुरुङले २५औँ र ३३औँ मिनेटमा लगातार दुई गोल गर्दै गण्डकीको अग्रता ३–० बनाए ।
दोस्रो हाफमा पनि गण्डकीले आक्रामक खेललाई निरन्तरता दियो । सुदिप गुरुङले ५७औँ मिनेटमा गोल थप्दै अग्रता ४–० पुर्याए ।
खेलको अतिरिक्त चार मिनेटमा टेगराज गुरुङले थप एक गोल गरेपछि गण्डकीले ५–० को फराकिलो जित सुनिश्चित गरेको हो ।
खेलमा गण्डकीका रन्दिप पौडेल र यामबहादुर श्रेष्ठ तथा कर्णालीका दिलविजय शाहीले पहेँलो कार्ड पाएका थिए ।
म्याच कमिसनर वीरेन्द्र पाण्डेका अनुसार बिहीबार दिउँसो २ः३० बजे हुने अर्को खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।