
काठमाडौं । आगामी चैत–वैशाखमा स्थानीय तहको निर्वाचन गराउने गरी निर्वाचन आयोगले तयारी थालेपछि राजनीतिक दलहरू चुनाव केन्द्रित रणनीति बनाउन जुटेका छन् । प्रतिनिधिसभा निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहमा पनि आफ्नो प्रभाव विस्तार गर्ने योजनामा छ ।
रास्वपाले निर्वाचन केन्द्रित प्रशिक्षण, अभियान, संगठन विस्तार तथा सुदृढीकरणलाई तीव्रता दिएको छ । पार्टीले भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ मार्फत देशभरका ७५३ पालिका र ६ हजार ७४३ वडामा उम्मेदवार छनोटका लागि आवेदन खुला गरिसकेको छ ।
पार्टीभित्र र बाहिर लोकप्रिय व्यक्तिहरूलाई उम्मेदवारको प्राथमिकतामा राखेको रास्वपाले विपक्षी दलको प्रभाव रहेका क्षेत्रमा समेत सोही पार्टीका लोकप्रिय व्यक्तिलाई आकर्षित गर्ने रणनीति बनाएको देखिन्छ ।
रास्वपा पहिलोपटक स्थानीय तह निर्वाचनमा सहभागी हुन लागेकाले यसपटकको निर्वाचन राजनीतिक रूपमा निकै रोचक हुने अनुमान गरिएको छ ।
२०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकार ढलेसँगै रास्वपाले त्यसको प्रत्यक्ष लाभ लिएको थियो । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीसहितका पुराना स्थापित दल कमजोर बन्दा रास्वपाले दुई तिहाइ नजिक अर्थात् १८२ सिट जितेको थियो ।
त्यही चुनावी रफ्तारलाई स्थानीय तह र प्रदेशसभा निर्वाचनमा समेत कायम राख्ने रास्वपाको लक्ष्य देखिन्छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनदेखि संविधान संशोधनका विषयमा समेत स्थानीय तह र प्रदेशसभा निर्वाचनको परिणाम महत्वपूर्ण हुने भएकाले सत्तारुढ र विपक्षी दुवै पक्षले आगामी चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, सुदृढीकरण र पार्टी एकताको प्रयासमा जुटेको छ । पार्टीको आगामी रणनीति तय गर्न केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ ।
जेनजी आन्दोलनपछि रक्षात्मक बनेको कांग्रेसलाई गगन थापा र विश्वप्रकाश शर्माहरूले पुनर्गठन गर्दै १५औँ महाधिवेशन सम्पन्न गरेका छन् । तर, गगन नेतृत्वले आयोजना गरेको महाधिवेशनलाई पूर्वसभापति शेरबहादुर देउवा, शेखर कोइराला र पूर्णबहादुर खड्का समूहले बहिष्कार गरेका थिए ।
पार्टीभित्रको विभाजनले आगामी निर्वाचनमा कांग्रेसलाई क्षति पुग्न सक्ने विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ । गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएपछि कांग्रेसले आफ्नो प्रभाव विस्तार गरे त्यसको प्रत्यक्ष असर रास्वपालाई पर्ने चर्चा पनि छ ।
यद्यपि कांग्रेसभित्रको आन्तरिक विवाद र विभाजनको फाइदा आफूहरूलाई हुने बुझाइ रास्वपा नेताहरूमा रहेको देखिन्छ ।
संघीय निर्वाचनमा इतिहासकै कमजोर परिणाम व्यहोरेका एमाले र नेपाली कम्युनिस्ट पार्टी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने रणनीतिमा छन् ।
प्रदेशमा सत्ता सहकार्य गरेका यी दुई पार्टीले संगठनलाई आन्तरिक रूपमा मजबुत बनाउँदै चुनावी तालमेलमार्फत स्थानीय तह र प्रदेशमा गुमेको शक्ति पुनःस्थापित गर्ने प्रयास गरिरहेका छन् ।
मंसिर २ र ३ गते राष्ट्रिय भेला सम्पन्न गरी उनीहरूले चुनावका बेला हुन सक्ने षड्यन्त्रलाई चिर्ने गरी तयारीमा जुट्न निर्देशन दिएका छन् । भेलाले वामपन्थी घटक तथा संविधान निर्माण पक्षधर शक्तिहरूबीच कार्यगत एकतामा जोड दिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीले पनि एमालेसहितका वामपन्थी घटकहरूसँग एकता, सहकार्य र मोर्चाबन्दीलाई प्राथमिकतामा राखेको छ ।
एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच अनौपचारिक रूपमा सहकार्य तथा एकताका विषयमा छलफल भइरहेको भए पनि ठोस निष्कर्षमा नपुगेको दुवै पक्षका नेताहरूले बताएका छन् ।
संघीय निर्वाचनमा परिणामविहीन बनेका मधेस केन्द्रित दलहरूले स्थानीय तह र प्रदेशसभामा आफ्नो प्रभाव कायम राख्न ‘अग्रगामी मोर्चा’ गठन गरेका छन् ।
आगामी निर्वाचनमा एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने विषयमा उनीहरू आन्तरिक छलफलमा जुटेका छन् । मधेस केन्द्रित दलहरूका लागि स्थानीय तहको निर्वाचन आफ्नो राजनीतिक प्रभाव र संगठन जोगाउने महत्वपूर्ण अवसरका रूपमा देखिएको छ ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि करिब ३५ वर्ष सत्ता सञ्चालन गरेका परम्परागत दलहरूलाई आगामी निर्वाचन जित्न सहज देखिँदैन ।
जेनजी आन्दोलनको बलमा सत्ता गुमाएका पुराना दलहरूका सामु रास्वपा, श्रम संस्कृति पार्टीलगायत नयाँ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू चुनौतीका रूपमा खडा हुने देखिन्छन् ।
रास्वपाले सरकार सञ्चालन गरेको सात महिनामा लोकप्रियताको ग्राफ केही घटेको देखिए पनि स्थानीय तह र प्रदेशसभा निर्वाचनमा मतदाताले आफ्नो मत परिवर्तन गर्ने संकेत देखिएको छैन । संघीय निर्वाचनमा जस्तो अत्यधिक मत नआए पनि स्थानीय तहमा बहुमत कायम रहने विश्वास पार्टी वृत्तमा देखिन्छ ।
बहुदलीय व्यवस्था पुनःस्थापनापछि २०४९ सालमा स्थानीय निकायको पहिलो निर्वाचन भएको थियो । त्यसयता ३० वर्षको अवधिमा स्थानीय तहका चारवटा निर्वाचन सम्पन्न भइसकेका छन् ।
२०४९ सालको निर्वाचन : कांग्रेस पहिलो शक्ति
निर्वाचन आयोगका अनुसार २०४९ जेठ १५ र १८ गते दुई चरणमा सम्पन्न स्थानीय निर्वाचनमा ३ हजार ९९५ गाउँ विकास समिति र ३६ नगरपालिकाका लागि निर्वाचन भएको थियो ।
कुल १ करोड २० लाख मतदातामध्ये ६० प्रतिशतले मतदान गरेका थिए । कुल ४४ हजार ५३९ पदमध्ये नेपाली कांग्रेसले २२ हजार ३०६ अर्थात् ५०.४ प्रतिशत स्थानमा जित हासिल गर्दै पहिलो शक्ति बनेको थियो ।
नेकपा (एमाले) ले ११ हजार ५६१ अर्थात् २६.१ प्रतिशत स्थानमा जित निकाल्दै दोस्रो स्थान हासिल गरेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार ३२५ अर्थात् ९.७५ प्रतिशत स्थान जित्दै तेस्रो र तत्कालीन नेकपा (माओवादी) को खुला मोर्चा संयुक्त जनमोर्चा नेपालले २ हजार २५१ अर्थात् ५.०८ प्रतिशत स्थानमा जित हासिल गर्दै चौथो शक्ति बनेको थियो ।
२०५४ सालको निर्वाचन : एमालेको दबदबा
२०५४ सालमा सम्पन्न दोस्रो स्थानीय निकाय निर्वाचनमा एमाले सबैभन्दा बलियो शक्तिका रूपमा स्थापित भएको थियो । जेठ ४ र १३ गते गरी दुई चरणमा भएको निर्वाचनमा १ करोड २५ लाख ३८ हजार २७२ मतदाताले भाग लिएका थिए ।
२ हजार ९१२ गाउँ विकास समिति, एक महानगरपालिका, तीन उपमहानगरपालिका र ५४ नगरपालिकाका लागि भएको निर्वाचनबाट १ लाख ८८ हजार १० जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
माओवादी सशस्त्र द्वन्द्वका कारण पश्चिमका ४० गाविसमा पूरै र २० गाविसका केही स्थानमा चुनाव हुन सकेको थिएन भने १६० स्थानमा मतदान स्थगित भएको थियो ।
पहिलो चरणको निर्वाचनमा एक महानगर र २३ नगरपालिकाका १८ प्रमुख तथा १९ उपप्रमुख एमालेका उम्मेदवारले जितेका थिए । कांग्रेसले जम्मा तीन प्रमुख र ६ उपप्रमुख मात्र जित्न सकेको थियो ।
दोस्रो चरणको निर्वाचनमा ३४ मध्ये २२ नगरपालिकामा एमाले विजयी भएको थियो । समग्रमा एमालेबाट १ लाख २८ हजार जनप्रतिनिधि निर्वाचित भएका थिए । माओवादीले बहिष्कार गरेको उक्त निर्वाचनमा ९ हजार ६१६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए ।
अघिल्लो निर्वाचनमा २६.१ प्रतिशत मत ल्याएर ११ हजार ५८१ स्थान जितेको एमालेले २०५४ सालमा ५२.१८ प्रतिशत मत प्राप्त गर्नुका साथै आठ जिल्लामा जिल्ला सभापति लिन सफल भएको थियो ।
उता २०४९ सालमा ५०.१४ प्रतिशत मतसहित २२ हजार २७० स्थान जितेको कांग्रेस २०५४ सालमा २९.८३ प्रतिशत मतमा सीमित हुन पुगेको थियो ।
त्यसपछि माओवादी द्वन्द्व उत्कर्षमा पुगेका कारण २० वर्षसम्म स्थानीय निकायको निर्वाचन हुन सकेन ।
२०७४ सालको निर्वाचन : एमाले पहिलो, कांग्रेस दोस्रो
२०७२ सालमा संविधानसभाबाट नेपालको संविधान जारी भएपछि २०७४ वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा पहिलोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राज्यको पुनःसंरचना गर्दै पुराना स्थानीय निकाय खारेज गरिएका थिए । नयाँ संरचनाअनुसार ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कुल ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा निर्वाचन सम्पन्न भएको थियो ।
उक्त निर्वाचनमा २९४ पालिका प्रमुख/अध्यक्ष, ३३१ उपप्रमुख/उपाध्यक्ष, २ हजार ५६० वडाध्यक्ष र १० हजार ९१२ वडा सदस्य पद जित्दै नेकपा (एमाले) पहिलो शक्ति बनेको थियो ।
नेपाली कांग्रेस २६६ प्रमुख/अध्यक्ष, २२३ उपप्रमुख/उपाध्यक्ष, २ हजार २८६ वडाध्यक्ष र ८ हजार ६७९ वडा सदस्यसहित दोस्रो स्थानमा रह्यो ।
यस्तै, नेकपा (माओवादी केन्द्र) ले १०६ प्रमुख/अध्यक्ष, १११ उपप्रमुख/उपाध्यक्ष, १ हजार १०२ वडाध्यक्ष र ४ हजार १२३ वडा सदस्य पद जितेको थियो ।
२०७९ सालको निर्वाचन : कांग्रेस पहिलो दल
२०७९ सालमा स्थानीय तहको निर्वाचन देशभर एकै चरणमा सम्पन्न भएको थियो । त्यस निर्वाचनमा कांग्रेस पहिलो दल बन्न सफल भएको थियो । पार्टी विभाजन र कांग्रेस–माओवादी केन्द्रबीचको चुनावी तालमेलका कारण एमालेले धक्का व्यहोर्नुपरेको थियो ।
निर्वाचनमा कांग्रेसले ३२८ प्रमुख/अध्यक्ष, ३०० उपप्रमुख/उपाध्यक्ष, २ हजार ६५५ वडाध्यक्ष र १० हजार ४३० वडा सदस्य गरी कुल १३ हजार ७१३ पद हात पारेको थियो ।
दोस्रो स्थानमा खुम्चिएको एमालेले २०५ प्रमुख/अध्यक्ष, २३९ उपप्रमुख/उपाध्यक्ष, २ हजार १२५ वडाध्यक्ष र ९ हजार २८४ वडा सदस्य गरी कुल ११ हजार ८५३ पद जितेको थियो ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १२१ प्रमुख/अध्यक्ष, १२८ उपप्रमुख/उपाध्यक्ष, १ हजार ५३ वडाध्यक्ष र ३ हजार ७४२ वडा सदस्य गरी कुल ५ हजार ४४ पद जितेको थियो ।
यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालले ३० प्रमुख/अध्यक्ष, ३१ उपप्रमुख/उपाध्यक्ष, २९५ वडाध्यक्ष र १ हजार १९२ वडा सदस्य जितेको थियो ।
नेकपा (एकीकृत समाजवादी) ले २० प्रमुख/अध्यक्ष, २३ उपप्रमुख/उपाध्यक्ष, १९० वडाध्यक्ष र ७५३ वडा सदस्य पद जितेको थियो ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १६ प्रमुख/अध्यक्ष, १२ उपप्रमुख/उपाध्यक्ष, १०३ वडाध्यक्ष र ४५० वडा सदस्य पदमा जित हासिल गरेको थियो ।
यसपटकको स्थानीय तह निर्वाचनमा नयाँ राजनीतिक शक्तिको उदय, पुराना दलको संगठनात्मक अवस्था, आन्तरिक विभाजन र चुनावी तालमेलले परिणामलाई प्रभावित पार्ने देखिन्छ । संघीय निर्वाचनमा रास्वपाले हासिल गरेको सफलतालाई स्थानीय तहमा दोहोर्याउन सके पुराना दलहरूको राजनीतिक समीकरण थप बदलिन सक्नेछ।