
१० मंसिर, काठमाडौं । विद्यालयमा शिक्षक नभएपछि अछामको कमलबजार नगरपालिका–२ स्थित शक्ति माध्यमिक विद्यालयका विद्यार्थी नगरपालिकाको कार्यालयमै पुगेर पढ्न थालेका छन् ।
बिहीबार बिहान कक्षा सञ्चालन हुने समयमा विद्यार्थीहरू नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगेर किताब निकाल्दै पढ्न थालेका हुन् । कक्षा कोठामा पढाउने शिक्षक नभएपछि शिक्षकको माग राख्दै विद्यार्थी नगरपालिका पुगेका थिए ।
‘शिक्षकको माग राखेर विद्यार्थी नगरपालिकामा गएका हुन् । कक्षा ५ भन्दा माथिल्लो कक्षामा पढाउने शिक्षक हुनुहुन्न,’ विद्यालयका प्रधानाध्यापक कमल भण्डारीले भने ।
उनका अनुसार विद्यालयमा कक्षा ९ सम्म पढाइ हुन्छ । तर, माथिल्लो कक्षामा पढाउने शिक्षकको अभाव छ । विद्यालयमा प्राविको स्थायी दरबन्दी एक जना, राहत दरबन्दी दुई जना र बालविकासका एक जना शिक्षक छन् । निमावि तहमा अनुदानका एक जना शिक्षक छन् ।
नगरपालिकाले नियुक्त गरेका पाँच जना शिक्षक हटाएपछि माथिल्लो कक्षामा पढाउने शिक्षकको अभाव भएको प्रधानाध्यापक भण्डारीले बताए ।
‘बाल विकाससहित अहिले पाँच जना मात्र शिक्षक हुनुहुन्छ । नगरले हामी शिक्षक राख्दैनौं भनेपछि समस्या भएको हो,’ उनले भने ।
शिक्षकको माग राख्दै नगरपालिका पुगेका विद्यार्थीमध्ये एक जना घाइतेसमेत भएका छन् ।
यता, नगरपालिकाले भने शिक्षक नियुक्तिको प्रक्रिया अगाडि बढाउन विद्यालयलाई आग्रह गरेको जनाएको छ । विद्यार्थीलाई शिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउनुको सट्टा नगरपालिकामा आन्दोलन गर्न पठाएर बदनाम गराउन खोजिएको नगर प्रमुख यज्ञप्रसाद ढकालले आरोप लगाए ।
‘दुई जना शिक्षकले छोड्नु भएको रहेछ । पालिकाको सहयोगमा मावि चलाएको हो,’ उनले भने, ‘विद्यालयलाई निर्णय गरेर पालिकामा निवेदन दिन भनेका छौँ । तर विद्यार्थीलाई प्रयोग गरेर आन्दोलन गरियो ।’
महालेखाले विकास बजेटबाट शिक्षक तथा कर्मचारीलाई तलब नखुवाउन भनेको उल्लेख गर्दै नगर प्रमुख ढकालले शिक्षकका लागि नगरपालिकाले बजेट व्यवस्था गर्ने बताए । आवश्यक व्यवस्था मिलाएर शिक्षक नियुक्त गरिने उनको भनाइ छ ।
नगरपालिकामा तोडफोड भएको आरोप लगाउँदै नगर प्रमुख ढकालले विद्यार्थीलाई नगरपालिका पठाउने व्यक्तिमाथि छानबिन गरी कारबाही गरिने चेतावनीसमेत दिएका छन् ।
‘नगरमा तोडफोड भएको छ । विद्यार्थी पठाउनेलाई कारबाही गर्ने अवस्था आएको छ,’ नगरप्रमुख ढकालले भने।