
१० मंसिर, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौंका मासु कोल्ड स्टोरमा छड्के अनुगमन गरेकी छन् ।
मन्त्री चौधरी आफैं स्कुटर चलाएर ललितपुरस्थित जावलाखेल क्वाटरबाट अनुगमनमा निस्किएकी थिइन् । स्कुटरको पछाडि उनका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) बसेका थिए ।
उनले काठमाडौंको बालाजुस्थित भ्याली कोल्डस्टोर र सीतापाइलास्थित बुढाथोकी कोल्डस्टोरमा पुगेर अनुगमन गरेको सचिवालय सदस्य सरिता चौधरीले जानकारी दिइन् ।
मंसिर १ गतेदेखि कार्यान्वयनमा ल्याइएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयन अवस्था बुझ्न मन्त्री चौधरी कोल्ड स्टोरमा पुगेकी हुन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण स्थानीय तहमा मंसिर १ गतेदेखि पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ औपचारिक रूपमा लागू गरिएको छ । उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले सरकारले काठमाडौं उपत्यकामा उक्त ऐन कार्यान्वयनमा ल्याएको हो ।
अनुगमनका क्रममा मन्त्री चौधरीले मासुको भण्डारण अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गरेकी थिइन् ।
‘छड्के अनुगमनका क्रममा उहाँले मासुको भण्डारण अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गर्नुभएको थियो,’ सचिवालयले पठाएको प्रेस नोटमा उल्लेख छ ।
उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र निर्धारित मापदण्डको पालना गर्नुपर्नेमा मन्त्री चौधरीले जोड दिएकी छन् ।