२०८३ मंसिर १३, शनिबार

कुमरोज मध्यवर्ती सामुदायिक वन

बाढीबाट बस्ती जोगाउन रोपिएको जंगल अहिले पर्यटकको आकर्षण, कुमरोजले कमाउँछ करोडौं

बाढीबाट बस्ती जोगाउन रोपिएको जंगल अहिले पर्यटकको आकर्षण, कुमरोजले कमाउँछ करोडौं
बाढीबाट बस्ती जोगाउन रोपिएको जंगल अहिले पर्यटकको आकर्षण, कुमरोजले कमाउँछ करोडौं

११ मंसिर, चितवन । कुनै समय राप्ती नदीको बाढीले बस्ती नै जोखिममा पार्ने पूर्वी चितवनको कुमरोज क्षेत्र अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ । बाढीबाट बस्ती जोगाउन सुरु गरिएको वृक्षरोपण अभियान अहिले घना जंगल, वन्यजन्तुको बासस्थान र पर्यापर्यटनको आधार बनेको छ ।

२०४१ साल असोज ६ गते राप्ती नदीमा आएको भीषण बाढीले पूर्वी चितवनको कुमरोज बस्तीलाई जोखिममा पारेको थियो । वर्षौँसम्म दोहोरिने बाढीका कारण स्थानीय त्रसित थिए । बाढीले जनजीवन र जीविकोपार्जनमा समेत ठूलो असर पुर्‍याएको थियो । २०५० सालसम्म आइपुग्दा बाढीको त्रास झनै बढ्दै गएको थियो ।

त्यही जोखिमबाट बस्ती जोगाउन स्थानीयले नदी किनार र आसपासका क्षेत्रमा बाँस, सिसौ र भेलरका बिरुवा रोप्न थाले । बाढीको पानी रोक्न प्राकृतिक अवरोध निर्माण गर्ने उद्देश्यले सुरु गरिएको वृक्षरोपण क्रमशः वन संरक्षण अभियानमा परिणत भयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोग र स्थानीय समुदायको निरन्तर प्रयासले विस्तार हुँदै गएको कुमरोज मध्यवर्ती सामुदायिक वन अहिले करिब एक हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

खैरहनी नगरपालिका–१२ र १३ मा फैलिएको यो वन चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । यहाँ बाघ, गैँडा, हात्तीलगायतका वन्यजन्तु पाइन्छन् । वन संरक्षणसँगै पर्यापर्यटन विस्तार भएपछि कुमरोज पूर्वी चितवनको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

अहिले वनमा जिप सफारी, हात्ती सफारी, डुङ्गा सयर, जंगल वाक तथा मचानबाट वन्यजन्तु अवलोकन गर्न सकिन्छ । पर्यटक प्रवेश शुल्क, सफारी, मचान र कफीसप वनका आम्दानीका स्रोत बनेका छन् ।

कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष राजु सिलवालका अनुसार गत आर्थिक वर्षमा वनले चार करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आर्थिक वर्षमा सात करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ ।

‘हामीले बाढीको पीडाबाट सिकेका छौँ । निरन्तर संरक्षणको परिणाम हो, आज मध्यवर्ती वनले पर्यटकको आकर्षण बटुल्दै आएको छ,’ अध्यक्ष सिलवाल भन्छन् ।

बाढी रोक्ने प्रयासबाट सुरु भएको संरक्षण अभियान

कुमरोज वन अहिलेको स्वरूपमा आइपुग्न लामो समय लागेको छ । यसको सुरुवात बाढीबाट बस्ती जोगाउने प्रयासबाट भएको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ रेन्जर ऋषिराम सुवेदीका अनुसार २०४९ र २०५० सालतिर पूर्वी चितवनमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको थियो । हजारौँ बिघा जमिन डुबानमा परेको थियो भने झन्डै दुई हजार परिवार विस्थापित हुनुपरेको थियो । केही परिवारलाई खैरहनी नगरपालिका–२ को सिमरामा पुनःस्थापना गरिएको थियो ।

त्यतिबेला बाढी नियन्त्रणका लागि ड्याम निर्माण गर्ने विषयमा पनि छलफल भएको थियो । तर हरेक वर्ष ड्याम थप्दै जानुपर्ने र त्यसका लागि निरन्तर स्रोत तथा जनशक्ति जुटाउनुपर्ने देखिएपछि प्राकृतिक अवरोध निर्माणको विकल्प खोजिएको थियो ।

स्थानीय लोकप्रसाद बुर्लाकोटी र दानबहादुर दाहालले स्थायी समाधानका रूपमा प्राकृतिक अवरोध निर्माण गर्न वृक्षरोपण गर्नुपर्ने सुझाव दिएपछि योजना अघि बढेको सुवेदी बताउँछन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले २०५० सालदेखि यस क्षेत्रमा वृक्षरोपण सुरु गरेको थियो । कुमरोजको जनकपुर क्षेत्रमा १५ कठ्ठा जमिनमा नर्सरी स्थापना गरी बिरुवा उत्पादन गर्न थालिएको थियो । त्यही नर्सरीमा उत्पादन भएका बिरुवा विभिन्न क्षेत्रमा क्रमशः रोपिँदै गए ।

‘यो वन एकै वर्षमा बनेको होइन । वर्षैपिच्छे प्लट–प्लट गरेर वृक्षरोपण गर्दै विस्तार गरिएको हो,’ सुवेदी बताउँछन् ।

सुरुवाती चरणमा संरक्षण अभियानले स्थानीयको साथ र विरोध दुवै सामना गर्नुपरेको थियो । जंगलमा निर्भर रहेका कतिपय स्थानीयलाई पशुचौपाया चराउन नपाउने भएपछि समस्या परेको थियो ।

संरक्षणको सुरुवाती दिन सम्झँदै सुवेदी भन्छन्, ‘बिरुवा रोप्यो, फालिदिने, हुर्काउनै नसक्ने अवस्था थियो । एक दिन त भैँसी चराउँदै गरेका स्थानीयहरू म र अर्को एक जना साथी थियौँ । हामी दुवै जनालाई राप्तीमा बगाइदिने भन्दै आए ।’

वन किनारमा बस्ने र वनमै निर्भर समुदायलाई संरक्षणको महत्त्व बुझाउन लामो समय लागेको उनको भनाइ छ । सुरुमा यस क्षेत्रमा सिमलका केही रुख मात्रै थिए । सिमलको फूल टिपेर बेच्ने चलन थियो ।

कुमरोजलाई सौराहापछिको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना स्थानीयलाई बुझाउँदै लगिएपछि उनीहरू पनि संरक्षण अभियानमा जोडिन थालेको सुवेदी बताउँछन् ।

वृक्षरोपणसँगै पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना अघि बढाइयो । मचान बनाइयो, जंगलभित्र पर्यटकका लागि ट्र्याक खोलियो । यसले वन्यजन्तु अवलोकन र पर्यटन गतिविधि विस्तार गर्न सहयोग पुर्‍यायो ।

२०५३ सालमा सामुदायिक वनले हात्ती सफारी, जंगल वाक, जिप सफारी र डुङ्गा सयर सञ्चालनमा ल्यायो । सुरुमा १० वटा जिपलाई मात्रै अनुमति दिइएको थियो । अहिले दैनिक करिब १०० जिपले पर्यटकलाई जंगल सफारी गराउने गरेको वनको अभिलेख छ ।

वरिष्ठ रेन्जर सुवेदी कुमरोज सामुदायिक वन जिप सफारी सुरु गर्ने पहिलो सामुदायिक वन भएको बताउँछन् । यहाँ जिप सफारी सफल भएपछि अन्य सामुदायिक वनले पनि त्यसलाई पछ्याएको उनको भनाइ छ ।

वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिँदै २०५३ सालमा जिल्ला वन कार्यालयमा दर्ता भएपछि उपभोक्ता समितिमार्फत संरक्षण व्यवस्थापन सुरु गरिएको वनका अध्यक्ष राजु सिलवाल बताउँछन् । २०५९ सालमा चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएपछि वन पर्यटनका गतिविधि थप सक्रिय भएको उनको भनाइ छ ।

वनको आम्दानीले बदलिँदै स्थानीयको जीवन

कुमरोज मध्यवर्ती सामुदायिक वनको विशेषता वन्यजन्तु संरक्षण र पर्यटनमा मात्रै सीमित छैन । वनबाट भएको आम्दानी स्थानीयको शिक्षा, स्वास्थ्य, पूर्वाधार र जीविकोपार्जनमा समेत खर्च हुँदै आएको छ ।

वनको सेवा क्षेत्रभित्र खैरहनी नगरपालिका–१२ र १३ पर्छन् । यस क्षेत्रमा करिब तीन हजार घरधुरी छन् । तीमध्ये करिब एक हजार घरधुरी आर्थिक रूपमा कमजोर रहेको, ३०० घरधुरी सुकुमवासी र ३०० घरधुरी अव्यवस्थित बसोबास गर्ने रहेको वडा नम्बर १३ का अध्यक्ष कुलप्रसाद भुसाल बताउँछन् ।

उनका अनुसार यस क्षेत्रका धेरै स्थानीयको आर्थिक निर्भरता वनसँग जोडिएको छ । वनबाट प्राप्त आम्दानी र प्राकृतिक स्रोतमा मात्रै निर्भर रहनुभन्दा पर्यटनका माध्यमबाट स्थानीयको आयआर्जन बढाउने प्रयास भइरहेको छ ।

‘स्थानीयको आर्थिक अवस्था सुधार गर्न वनसँगको प्रत्यक्ष निर्भरता कम गर्दै पर्यटकीय गतिविधिमा जोड्ने प्रयास भइरहेको छ,’ भुसाल भन्छन्, ‘सामुदायिक वनले पनि आफ्नो नाफालाई स्थानीय केन्द्रित काममा खर्च गर्दै आएको छ ।’

पछिल्लो समय वन आसपासका बासिन्दाको दैनिकी पशुपालनबाट पर्यटन र सेवामूलक व्यवसायतर्फ सर्दै गएको उनको भनाइ छ । स्थानीयलाई होटल व्यवस्थापन, इलेक्ट्रिसियन र प्लम्बिङलगायतका सिपमूलक तालिम उपलब्ध गराउने काम पनि भइरहेको छ ।

पर्यटन विस्तारसँगै स्थानीयले रोजगारी र व्यवसायका नयाँ अवसर पाएका छन् । वन संरक्षणमा स्थानीयको लगानी र सहभागिताले वन्यजन्तुको आवागमनसमेत बढेको भुसाल बताउँछन् ।

तर संरक्षणको बाटो सहज छैन । हरेक वर्ष मानव–वन्यजन्तु द्वन्द्वका घटना हुने र त्यसबाट मानवीय क्षतिसमेत हुने गरेको छ । यस्तो जोखिम हुँदाहुँदै पनि स्थानीयले आगामी पुस्ताका लागि वनलाई आम्दानीको स्रोतका रूपमा हस्तान्तरण गर्ने उद्देश्यसहित संरक्षणमा योगदान गरिरहेका छन् ।

शिक्षादेखि दाहसंस्कारसम्म वनको सहयोग

कुमरोज सामुदायिक वनले आफ्नो आम्दानीको ठूलो हिस्सा सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय समुदायमा खर्च गर्दै आएको छ ।

वनका अध्यक्ष राजु सिलवालका अनुसार विपन्न परिवारलाई घर निर्माणमा सहयोग, सडक ढलान तथा ग्राभेल, खानेपानी धारा जडान, सुत्केरी पोषण खर्च, दाहसंस्कार, स्वास्थ्य उपचार, शिक्षा, संस्कृति संरक्षण र खेलकुदलगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

शिक्षा क्षेत्रको विकासका लागि चालु वर्षमा मात्रै वनले २० लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । सेवा क्षेत्रभित्रका ६ वटा विद्यालय र एउटा बाल विकास केन्द्रलाई उक्त रकम सहयोग गरिएको अध्यक्ष सिलवालले जानकारी दिए ।

वनले स्थानीय किसानलाई दूध उत्पादनमा समेत अनुदान दिँदै आएको छ । सेवा क्षेत्रभित्र रहेका ६ वटा दुग्ध उत्पादक सहकारीमार्फत किसानले प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान पाउने गरेका छन् ।

कुनै सदस्यको मृत्यु भएमा दाहसंस्कारका लागि १० हजार रुपैयाँ उपलब्ध गराइन्छ । सदस्य सुत्केरी हुँदा पोषण खर्चसमेत दिइन्छ ।

मानव–वन्यजन्तु द्वन्द्वबाट हुने क्षति न्यूनीकरण र प्रभावित परिवारलाई राहत दिन पनि वनले छुट्टै व्यवस्था गरेको छ । वन्यजन्तुको आक्रमणबाट मानवीय मृत्यु भएमा किरिया खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराइन्छ । घाइते भएमा बढीमा एक लाख रुपैयाँसम्म उपचार खर्च दिइन्छ । बाली तथा पशुचौपायामा क्षति पुगेमा मूल्याङ्कनका आधारमा ५० प्रतिशतसम्म राहत उपलब्ध गराउने गरिएको अध्यक्ष सिलवाल बताउँछन् ।

बस्ती र वनको सिमानामा कङ्क्रिट वाल निर्माण गरेर वन्यजन्तु बस्तीमा प्रवेश गर्ने जोखिम घटाउने प्रयाससमेत भइरहेको छ ।

‘आम्दानीअनुसार हामीले वनका सदस्यलक्षित काम गरेका छौँ । सामाजिक संस्था भएकाले सदस्यहरूको स्वास्थ्य, शिक्षा, बाटो निर्माण र घर निर्माणलाई प्राथमिकता दिएका छौँ । त्यो हाम्रो कर्तव्य पनि हो,’ अध्यक्ष सिलवाल भन्छन् ।

उनका अनुसार वनको आम्दानीले स्थानीय तहको सीमित स्रोतसाधनबाट गर्न कठिन हुने कतिपय विकास निर्माणका कामलाई समेत सहज बनाएको छ ।

संरक्षण र पर्यटनको नमुना

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले कुमरोज मध्यवर्ती सामुदायिक वनलाई संरक्षण र पर्यटनको समन्वयबाट समुदायको आर्थिक विकास सम्भव भएको उदाहरणका रूपमा लिने गरेको बताए ।

वन संरक्षणसँगै पर्यटकीय गतिविधि विस्तार हुँदा रोजगारी सिर्जना, स्थानीय आम्दानी वृद्धि र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा योगदान पुगेको उनको भनाइ छ । वनलाई अझ व्यवस्थित बनाउन मचान निर्माण र वन्यजन्तु अवलोकनका लागि सहज वातावरण तयार गर्नुपर्नेमा पुनले जोड दिएका छन् ।

कुमरोज वनले संरक्षणका नाममा स्थानीयलाई वनबाट अलग राख्नेभन्दा उनीहरूलाई नै संरक्षणको लाभग्राही बनाउने अभ्यास गरेको छ । वनबाट प्राप्त आम्दानी स्थानीयको शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीमा लगानी हुँदै आएको छ । यसले संरक्षणप्रति समुदायको अपनत्व बढाउन सहयोग गरेको देखिन्छ ।

कुनै समय बाढीको जोखिमले थातथलो नै छाड्नुपर्ने अवस्थामा पुगेका कुमरोजवासीले आज त्यही बाढीबाट जोगिन सुरु गरेको वृक्षरोपणलाई आर्थिक समृद्धिको आधार बनाएका छन् । बाढी रोक्ने उद्देश्यले रोपिएका बिरुवा अहिले जंगल बनेका छन्, त्यही जंगलले वन्यजन्तुलाई बास दिएको छ र मानिसलाई रोजगारी तथा आम्दानीको बाटो खोलेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस