
११ मंसिर, काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टर खाली गर्न सरकारले उर्दी जारी गरेपछि त्यहाँ बस्दै आएका सुकुमवासीहरू शुक्रबार बिहानैदेखि विरोध प्रदर्शनमा उत्रिएका छन् ।
सरकारको निर्णयको विरोधमा उनीहरूले बिहानैदेखि थाल ठटाएर प्रदर्शन सुरु गरेका हुन् । बालबालिका, वृद्धवृद्धा र परिवारसहित होल्डिङ सेन्टरमै धर्नामा बसेका उनीहरूले सरकारले आफूहरूलाई अन्यत्र जाने व्यवस्था नगरी हटाउन खोजेको भन्दै विरोध जनाइरहेका छन् ।
सरकारले शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिएको थियो । त्यसपछि उनीहरूलाई दिइँदै आएको खाना समेत बन्द गरिएको छ ।
खाना बन्द भएपछि सुकुमवासीहरू चाउचाउ र चिउरा खाएर भोक मेटाउन बाध्य भएका छन् । बालबालिका र वृद्धवृद्धासमेत सडकमै बसेर चाउचाउ र चिउरा मिसाएर खाइरहेको देखिएका छन् ।
गत वैशाखमा नदी किनारबाट हटाइएका सुकुमवासीलाई सरकारले उपत्यकाका तीन स्थानमा अस्थायी बसोबासको व्यवस्था गरेको थियो । त्यसपछि उनीहरू काठमाडौंको नागार्जुन तथा भक्तपुरका दुई स्थानमा बस्दै आएका छन् ।
भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र र खरिपाटीस्थित विद्युत् प्राधिकरणको भवनमा उनीहरूलाई अस्थायी रूपमा राखिएको थियो । सात महिनादेखि यी स्थानमा बस्दै आएका सुकुमवासीलाई अहिले बोडेस्थित कृषि विकास बैंकको भवन खाली गर्न उर्दी जारी गरिएको छ ।
अचानक ठाउँ खाली गर्नुपर्ने भएपछि त्यहाँ बस्दै आएका सुकुमवासीहरू भयभीत र आक्रोशित बनेका छन् ।