
११ मंसिर, काठमाडौं । जनकपुरधामस्थित त्रिभुवन विश्वविद्यालयको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा विद्यार्थी शुल्कमा भएको भनिएको २० करोड रुपैयाँभन्दा बढीको घोटालाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छ ।
विद्यार्थीको शुल्कमा अनियमितता भएको पाइएपछि त्रिभुवन विश्वविद्यालयले गठन गरेको छानबिन समितिले घोटालाको निष्कर्षसहितको प्रतिवेदन अख्तियारलाई बुझाएको हो ।
अनलाइनखबरले प्राप्त गरेको छानबिनसम्बन्धी कागजातअनुसार क्याम्पसमा ६ करोड २४ लाख रुपैयाँ हिनामिना भएको देखिएको छ । त्यस्तै, १४ करोड रुपैयाँ बराबरको रसिद फेला नपरेको प्रतिवेदनमा उल्लेख छ ।
‘त्रिवि आफैंले छानबिन गरेको हो । तर शुल्कमा ठूलो रकम अनियमितता भएको देखियो । यसमा अख्तियारले नै थप अनुसन्धान गर्नुपर्ने भएकाले प्रतिवेदन अख्तियारलाई दिएका छौँ,’ त्रिवि केन्द्रीय कार्यालयका एक अधिकारीले भने ।
उनका अनुसार अख्तियारले शुल्क घोटालाबारे थप अनुसन्धान गरिरहेको छ ।
त्रिविले यस प्रकरणको अनुसन्धान गर्न दुई पटक छुट्टाछुट्टै समिति गठन गरेको थियो । पहिलो समितिको छानबिन चित्त नबुझेपछि दोस्रो समिति गठन गरेर अनुसन्धान अघि बढाइएको थियो ।
दोस्रो समितिले २०८३ वैशाख ६ गते राराब क्याम्पस पुगेर अनुसन्धान थालेको थियो । समितिले वैशाख ७ गतेदेखि अध्ययन सुरु गरेको थियो । सुरुमा २६ वैशाखसम्म समय दिइएको समितिलाई तथ्यांक संकलनमा समय लागेपछि म्याद थप गरिएको थियो ।
समितिले ७५ दिन लगाएर प्रतिवेदन तयार पारेको थियो । जनकपुरमै बसेर अनुसन्धान गरेको समितिले सुरक्षा जोखिम बढेपछि काठमाडौं आएर प्रतिवेदन लेखनको काम पूरा गरेको थियो ।
छानबिन समितिले क्याम्पसमा विद्यार्थी शुल्क हिनामिना भएको ठहर गर्दै दोषीबाट रकम असुल गर्न र कारबाही गर्न सिफारिस गरेको छ ।
प्रतिवेदनमा लामो समयदेखि कानुनको डर नमानी योजनाबद्ध रूपमा विद्यार्थीबाट नगद रकम असुल गरिएको उल्लेख छ । विद्यार्थीलाई बैंकमा रकम जम्मा गर्न निरुत्साहित गर्दै नगद बुझ्ने र सरकारी कागजात दुरुपयोग गरी रसिदमा फरक–फरक रकम उल्लेख गर्ने गरेको समितिको निष्कर्ष छ ।
‘व्यापक रूपमा विगत लामो समयदेखि निरन्तर रूपमा कुनै कानूनको डर नमानी निडर भएर हिनामिना गर्ने मनसायका साथ विद्यार्थीहरूलाई बैंकमा रकम जम्मा गर्नमा समेत निरुत्साहित गरी नगद बुझिलिने र सो बुझिलिएको रकम समेत जालसाजी भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सरकारी कागजातको दुरुपयोग गरी रसिद काट्दा पहिलो र दोस्रो पानामा फरकफरक रकम उल्लेख गर्ने र आफूलाई इच्छा लागे जति रकम अपचलन गर्ने गरेको स्पष्ट हुन्छ ।’
मुख्यतः क्याम्पसको आन्तरिक कार्यक्रमतर्फ बीए, बीबीए, बीआईटी, सीएसआईटी, बीएस्सीलगायतका विषयको शुल्कमा घोटाला भएको समितिले औंल्याएको छ ।
विद्यार्थीलाई दिइने रसिदमा एउटा रकम र क्याम्पसको कार्यालयमा रहने कपी (ओसी)मा अर्को रकम उल्लेख गर्ने गरिएको पाइएको छ । विभिन्न तरिका अपनाएर रसिद काट्ने गरिएको प्रतिवेदनमा उल्लेख छ ।
समितिले शुल्क घोटालालाई गम्भीर अपराधका रूपमा व्याख्या गरेको छ । एक जना व्यक्तिले मात्रै नभई विभिन्न तहमा समूह सक्रिय रहेको र शक्तिको आडमा लामो समयसम्म तथ्य लुकाइएको समितिको निष्कर्ष छ ।
अनलाइनखबरले प्राप्त गरेको कागजातमा राराब क्याम्पसका लेखा सहायक सञ्जय दासले काटेका रसिदमा हिनामिना भएको देखिएको छ । तर, यति ठूलो रकमको घोटाला उनले एक्लैले गर्न नसक्ने निष्कर्ष छानबिन समितिले निकालेको छ ।
समितिले ६ करोड २४ लाख रुपैयाँ हिनामिना भएको किटान गरेको छ भने बाँकी १४ करोड रुपैयाँ बराबरका रसिद फेला नपरेको जनाएको छ ।
समितिले २०७७ साउन १ गतेदेखि २०८२ पुस मसान्तसम्मको अवधिलाई मात्रै छानबिन गरेको थियो । त्यसअघि पनि घोटाला भएको हुन सक्ने भन्दै थप अनुसन्धान गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा औंल्याइएको छ ।
अनियमितताको प्रमाण लुकाउन २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्याम्पसको लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरिएको थियो । आगोमा धेरै रसिद जलेर नष्ट भएकाले कति रकम घोटाला भएको थियो भन्ने यकिन गर्न नसकिएको समितिले जनाएको छ ।
यस घटनामा तत्कालीन क्याम्पस प्रमुख, लेखा प्रमुख तथा लेखापरीक्षणमा संलग्न त्रिविको आन्तरिक र महालेखाको टोलीसमेत प्रश्नको घेरामा तानिएका छन् ।
घोटाला प्रकरण सार्वजनिक भएपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विद्यार्थीको शुल्क हिनामिना गर्ने दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘छानबिन समितिले प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदन अध्ययन गरिरहेका छौँ,’ उपकुलपति थापाले भने, ‘प्रतिवेदनअनुसार दोषीलाई त्रिवि र प्रचलित कानुनअनुसार कारबाही गर्छौं ।’
थापाले आफ्नो नेतृत्वको टोली आएपछि विश्वविद्यालयभित्रका विभिन्न बेथिति र अनियमितताबारे जानकारी प्राप्त हुन थालेको भन्दै अन्य ठाउँमा पनि शुल्क घोटालाबारे छानबिन गरिने बताए ।
‘राराबमा मात्र होइन । अन्य ठाउँमा पनि खोजी गरिरहेका छौँ । हाम्रो एजेन्डा नै त्रिविमा सुशासन कायम गर्ने हो । बेथितिका फाइल खोल्न सुरु भएको छ,’ उनले भने ।
त्रिविको नियमअनुसार आर्थिक अनियमितता गर्ने कर्मचारीलाई बर्खास्त गर्नेसम्मको अधिकार रहेको छ । उपकुलपति थापाले पनि प्रतिवेदनअनुसार दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्रिविमा विद्यार्थीको शुल्कमा भएको यो घोटाला अहिलेसम्मकै ठूलो भ्रष्टाचार प्रकरण भएको दाबी गरिएको छ ।