
११ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्न भारतीय विद्युत् व्यापारिक कम्पनीहरूसँग प्रस्ताव मागेको छ ।
प्राधिकरणले चौबिसै घण्टा (राउन्ड द क्लक–आरटीसी) विद्युत् आपूर्ति गर्ने गरी प्रतिस्पर्धात्मक प्रक्रियामार्फत विद्युत् खरिद गर्न लागेको हो ।
शुक्रबार प्रकाशित सूचनाअनुसार भारतका क्याटागोरी–१, २ र ३ अन्तर्गत विद्युत् व्यापारको अनुमतिपत्र प्राप्त कम्पनीहरूले प्रस्ताव पेस गर्न सक्नेछन् ।
प्रस्ताव पेस गर्ने अन्तिम मिति २८ डिसेम्बर २०२६ अर्थात् १३ पुस २०८३ को दिउँसो १२ बजेसम्म तोकिएको छ । प्राधिकरणले सोही दिन दिउँसो १ बजे प्राविधिक प्रस्ताव खोल्ने जनाएको छ ।
बोलपत्र दस्तुरबापत भारतीय रुपैयाँ १२ हजार ५०० वा सो बराबर नेपाली रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, बोलपत्रदाताले प्रस्ताव गरेको कुल विद्युत् क्षमताको प्रतिमेगावाट प्रतिमहिना ५५ हजार भारतीय रुपैयाँका दरले धरौटी (अर्नेस्ट मनी डिपोजिट) राख्नुपर्नेछ ।
बोलपत्रसम्बन्धी कागजात सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र पोर्टलबाट डाउनलोड गर्न सकिने प्राधिकरणले जनाएको छ । इच्छुक कम्पनीले सोही पोर्टलमार्फत विद्युतीय रूपमा प्रस्ताव पेस गर्नुपर्नेछ ।
प्राविधिक प्रस्ताव प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्गमा खोलिनेछ । प्रस्ताव खोल्ने क्रममा सहभागी हुन चाहने बोलपत्रदाता वा उनीहरूका आधिकारिक प्रतिनिधि उपस्थित हुन सक्नेछन् ।
प्राधिकरणले प्राप्त प्रस्तावमध्ये कुनै वा सबै प्रस्ताव स्वीकार अथवा अस्वीकार गर्न सक्ने अधिकार सुरक्षित राखेको जनाएको छ ।