
चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न आइतबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले मंसिर १३ गते आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।
पहिरो रोकथामको कामका क्रममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा नारायणगढ–मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिएका छन् ।
सडक बन्द हुने समयमा यात्रु तथा सवारी चालकलाई वैकल्पिक समय मिलाएर यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।