
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान र अनुशासन उल्लङ्घन गर्ने निर्वाचित जनप्रतिनिधिलाई पदमा रहिरहन नदिने चेतावनी दिएका छन् ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसबाट निर्वाचित भएर पार्टीलाई नै नमान्ने वा नचिन्ने अभिव्यक्ति दिने जनप्रतिनिधिमाथि विधानअनुसार कारबाही गरिने स्पष्ट पारेका हुन् ।
पार्टीको अनुशासन उल्लङ्घन गर्ने जोकोहीलाई कारबाही गर्न आफू पछि नहट्ने उनको भनाइ थियो । उनले पार्टीको नीति, विधान र अनुशासन सबैले पालना गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, पार्टीभित्र असन्तुष्ट रहेका नेता तथा कार्यकर्तालाई संवादमार्फत समेट्न उपसभापति चन्द्र भण्डारीको नेतृत्वमा समन्वय भइरहेको उनले जानकारी दिए ।
अन्य दलबाट नेपाली कांग्रेस प्रवेश गर्न चाहने नेता तथा जनप्रतिनिधिसँग संवाद गर्न मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको पनि थापाले बताए ।
अधिवेशनमा पराजित भएका नेता तथा कार्यकर्ताको राजनीतिक भविष्य समाप्त नभएको उल्लेख गर्दै उनले सबैलाई सम्मानपूर्वक पार्टीमा समेटेर अघि बढ्नुपर्ने बताए ।
आवश्यक ठाउँमा कठोर निर्णय लिन र असन्तुष्ट पक्षसँग संवाद गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न उनले स्थानीय तहका प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।