
काठमाडौं । नेपाल मत्स्य समाजको सातौँ वार्षिक साधारण सभा तथा अधिवेशनले युगल किशोर तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीको प्रमुख आतिथ्यता तथा समाजकी अध्यक्ष डा. सुनिला राईको अध्यक्षतामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनमा मत्स्यपालन क्षेत्रसँग सम्बन्धित ६० भन्दा बढी विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले मत्स्यपालन व्यवसाय कृषकको जीविकोपार्जन, आयआर्जन तथा मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताइन् । उनले यस क्षेत्रका चुनौती समाधानका लागि सरकार प्रतिबद्ध रहेकोसमेत उल्लेख गरिन् ।
त्यस्तै, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा. श्याम नारायण लाभ र पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाललगायतले मत्स्यपालन क्षेत्रको विकासका लागि सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
नयाँ कार्यसमिति चयनसँगै नेपालमा मत्स्यपालन क्षेत्रको विकास, प्रवर्द्धन तथा यससँग सम्बन्धित समस्या समाधानका लागि थप प्रभावकारी भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ ।