२०८३ मंसिर १४, आईतबार

विद्युत् निर्यात

चार महिनामै २० अर्ब ४८ करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा सबैभन्दा बढी कारोबार

चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात
Post Thumbnail

काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी बचत भएको वर्षायामको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशमा निर्यात गरिएको हो ।
प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे-अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्दै आएको छ । त्यस्तै, द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार भारतका हरियाणा र बिहार राज्यमा समेत विद्युत् निर्यात भइरहेको छ ।
नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार बंगलादेशमा पनि विद्युत् निर्यात हुँदै आएको छ । वर्षायामका छ महिना अर्थात् प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशतर्फ विद्युत् निर्यात गर्ने व्यवस्था छ ।
प्राधिकरणको केन्द्रीय भुक्तानी विभागको प्रारम्भिक तथ्याङ्कअनुसार चार महिनामा विद्युत् निर्यातबाट कुल २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ आम्दानी भएको छ । यस अवधिमा विद्युत् बिक्रीको औसत दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ ।
महिनागत विवरणअनुसार साउनमा ६२ करोड ९८ लाख युनिट विद्युत् निर्यात गरी ५ अर्ब १३ करोड ३९ लाख रुपैयाँ आम्दानी भएको छ । भदौमा ५७ करोड ८७ लाख युनिट निर्यातबाट ५ अर्ब २२ करोड ९२ लाख रुपैयाँ प्राप्त भएको छ ।
त्यस्तै, असोजमा सबैभन्दा बढी ६५ करोड ९ लाख युनिट विद्युत् निर्यात भएको छ । उक्त महिनामा ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । कात्तिकमा भने ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भदौ र असोजमा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन र प्रसारण संरचनामा क्षति पुगेको बताए । बाढीका कारण केही आयोजनाको उत्पादन बन्द हुँदा यस वर्ष विद्युत् निर्यात प्रभावित भएको उनको भनाइ छ ।
निर्यातका लागि स्वीकृति पाएका केही आयोजनामा क्षति पुगे पनि आन्तरिक खपतपछि बचत भएको विद्युत् उल्लेख्य परिमाणमा निर्यात गर्न प्राधिकरण सफल भएको उनले बताए ।
गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो । सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत् आयात गर्दा १० अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरिएको थियो ।
गत आर्थिक वर्षमा विद्युत् आयातभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो । यससँगै नेपाल लगातार दुई वर्षदेखि विद्युत्को खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस