
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो पन्छाउने कार्यका लागि आजदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आइतबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गर्ने जनाएको हो ।
तुइनखोला क्षेत्रमा पहिरो पन्छाउने क्रममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन रोक्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।
सडक बन्द रहने अवधिमा नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ ।
यद्यपि, काठमाडौं–मुग्लिन–आँबुखैरेनी हुँदै पोखरा जाने तथा आउने सवारीसाधनको आवागमन भने नियमित रूपमा सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।
सडक बन्द हुने समयलाई ध्यानमा राख्दै यात्रु तथा सवारी चालकलाई आफ्नो यात्रा व्यवस्थापन गर्न प्रशासनले आग्रह गरेको छ ।