२०८३ मंसिर १२, शुक्रबार

जेन्सन हुवाङलाई एनभिडियाको सीईओमा फर्काउन युद्धकालीन कानुन प्रयोग गर्ने प्रस्ताव !

जेन्सन हुवाङलाई एनभिडियाको सीईओमा फर्काउन युद्धकालीन कानुन प्रयोग गर्ने प्रस्ताव
जेन्सन हुवाङलाई एनभिडियाको सीईओमा फर्काउन युद्धकालीन कानुन प्रयोग गर्ने प्रस्ताव !

काठमाडौं । एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुवाङलाई पदमा फर्काउन अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का अधिकारीहरूले युद्धकालीन कानुन प्रयोग गर्ने विषयमा छलफल गरेको समाचार सार्वजनिक भएको छ ।

वासिङ्टन पोस्टको समाचारअनुसार अमेरिकी रक्षामन्त्री पिट हेगसेथ र पेन्टागनका वरिष्ठ अधिकारीहरूले एनभिडियाको नेतृत्वमा हुवाङलाई पुनर्स्थापित गर्न रक्षा उत्पादन ऐन (डीपीए) प्रयोग गर्ने प्रस्ताव अघि सारेका थिए ।

एनभिडिया अमेरिकाको प्रमुख प्रविधि कम्पनीमध्ये एक हो । यसले कृत्रिम बुद्धिमत्ता (एआई), कम्प्युटिङ र डिजिटल उपकरणका लागि आवश्यक चिप उत्पादन गर्छ । चीनसँगको बढ्दो एआई प्रतिस्पर्धाका बीच एनभिडिया र यसको नेतृत्वलाई अमेरिकी राष्ट्रिय सुरक्षाका लागि रणनीतिक महत्त्वको रूपमा हेरिएको छ ।

समाचारअनुसार हुवाङलाई सीईओ पदमा फर्काउन पेन्टागनका अधिकारीहरूले कम्पनीको सञ्चालक समितिमाथि दबाब दिएका थिए । अमेरिकी राष्ट्रिय सुरक्षा र चीनसँगको प्रविधि प्रतिस्पर्धामा एनभिडियाको भूमिका महत्त्वपूर्ण रहेको तर्क गर्दै उनको पुनरागमनलाई आवश्यक ठानिएको थियो ।

हुवाङलाई पदमा फर्काउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले समेत मध्यस्थता गरेको थियो । ट्रम्पले उनलाई सीईओमा फर्काउन उपराष्ट्रपति जेडी भान्सलाई सहयोग गर्न आग्रह गरेको बताइएको छ ।

जेन्सनलाई फिर्ता ल्याउन युद्धकालीन कानुन !

ट्रम्प प्रशासनका अधिकारीहरूले एनभिडियालाई आफ्नो व्यावसायिक योजना र नाफाभन्दा सैन्य आवश्यकतालाई प्राथमिकता दिन बाध्य पार्न रक्षा उत्पादन ऐन प्रयोग गर्न सक्ने विषयमा छलफल गरेको समाचारमा उल्लेख छ ।

पेन्टागनका अधिकारीहरूले एनभिडियाको उत्पादनको ठूलो हिस्सा सैन्य परियोजनामा केन्द्रित गराउन डीपीए प्रयोग गर्न सकिने विकल्पबारे विचार गरेको बताइएको छ ।

‘मूलतः उनीहरूले एनभिडियालाई आफ्नो उत्पादनको ठूलो हिस्सा सैन्य परियोजनाहरूमा सार्न बाध्य पार्न डीपीए प्रयोग गर्नसक्थे,’ पेन्टागनका एक अधिकारीलाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।

उक्त समाचारले ट्रम्प प्रशासनले अमेरिकी प्राविधिक र सैन्य अग्रताका लागि एनभिडिया तथा यसको नेतृत्वलाई कति रणनीतिक महत्त्व दिएको थियो भन्ने देखाएको छ ।

साथै, एक निजी कम्पनीको निर्णयलाई प्रभावित पार्न अमेरिकी सरकार कति हदसम्म हस्तक्षेप गर्न इच्छुक थियो भन्ने विषयसमेत यसले उजागर गरेको समाचारमा उल्लेख छ ।

यद्यपि एनभिडियालाई यस विषयमा के भनिएको थियो वा उक्त प्रस्ताव राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससम्म पुगेको थियो कि थिएन भन्ने स्पष्ट भइसकेको छैन ।

पेन्टागनले समाचार अस्वीकार गर्‍यो

पेन्टागनले भने वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख गरिएको विषयलाई पूर्ण रूपमा अस्वीकार गरेको छ ।

‘युद्ध विभाग (डीओडब्ल्यू) का वरिष्ठ नेताहरूबीच भएका यी संवादहरू कहिल्यै भएका थिएनन् । मन्त्री, उपमन्त्री वा सहायक मन्त्रीद्वारा त्यस्तो कुनै प्रस्ताव गरिएको थिएन,’ युद्ध विभागका एक अधिकारीले प्रतिक्रिया दिएका छन् ।

ह्वाइट हाउस र एनभिडियाले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

रक्षा उत्पादन ऐन (डीपीए) के हो ?

रक्षा उत्पादन ऐन (डिफेन्स प्रोडक्सन एक्ट–डीपीए) सन् १९५० मा जारी गरिएको अमेरिकी कानुन हो । यसले राष्ट्रिय रक्षा र आपत्कालीन आवश्यकताका लागि घरेलु उत्पादनलाई प्राथमिकता दिन अमेरिकी सरकार तथा राष्ट्रपतिलाई व्यापक अधिकार प्रदान गर्छ ।

विशेषगरी युद्धकाल वा राष्ट्रिय आपत्कालका समयमा आवश्यक वस्तुहरूको उत्पादन बढाउन, आपूर्ति सुनिश्चित गर्न र उद्योगहरूलाई सरकारी आवश्यकताअनुसार काम गर्न लगाउन यो कानुन प्रयोग गर्न सकिन्छ ।

अमेरिकी उद्योगहरूले महत्त्वपूर्ण सरकारी आवश्यकताहरूलाई प्राथमिकता दिऊन् भन्ने सुनिश्चित गर्न यसअघि पनि डीपीए प्रयोग गरिएको छ ।

कोभिड–१९ महामारीका बेला पहिलो ट्रम्प प्रशासनले जनरल मोटर्सलाई भेन्टिलेटर उत्पादन गर्न दबाब दिन यही कानुन प्रयोग गरेको थियो ।

यो कानुनले राष्ट्रिय आपत्कालका समयमा अर्थतन्त्रमा हस्तक्षेप गर्न अमेरिकी राष्ट्रपतिलाई व्यापक अधिकार दिन्छ । निजी कम्पनीहरूले सरकारी आदेश र राष्ट्रिय सुरक्षाका लागि आवश्यक वस्तुहरूको उत्पादनलाई प्राथमिकता दिऊन् भन्ने सुनिश्चित गर्न यसको प्रयोग गरिँदै आएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस