अमेरिकामा हवाई उडान अवरुद्ध
अमेरिकामा हवाई उडानमा ठूलो अवरोध, १७ हजार उडान प्रभावित
अमेरिकामा हवाई उडानमा ठूलो अवरोध, १७ हजार उडान प्रभावित
Post views: 137
- वासिङ्टन । अमेरिकामा प्राविधिक समस्याका कारण राष्ट्रव्यापी रूपमा हवाई उडान अवरुद्ध हुँदा करिब १७ हजार उडान प्रभावित भएका छन्। लगातार दुई दिनसम्म देखिएको अवरोधका कारण हजारौँ यात्रुले सास्ती भोग्नुपरेको छ।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार शुक्रबार चार घण्टाभन्दा बढी समयसम्म उडान रोकिएपछि हवाई यातायात प्रणालीमा ठूलो असर परेको थियो। शुक्रबार निर्धारित उडानमध्ये करिब १२ हजार सञ्चालन हुन सकेनन् भने शनिबारका लागि तय गरिएका करिब पाँच हजार उडान रद्द गरिएका थिए।
एफएएले शनिबार राति करिब ८ः१५ बजे (स्थानीय समय) उडान रोक हटाएपछि केही आन्तरिक उडान पुनः सञ्चालनमा आएका छन्। यद्यपि, उडान ढिलाइ र रद्द हुने समस्या अझै केही समय कायम रहने अधिकारीहरूले बताएका छन्।
पछिल्लो २५ वर्षयताकै सबैभन्दा लामो उडान रोकका कारण अमेरिकाका विभिन्न विमानस्थलमा यात्रुहरू अलपत्र परेका थिए। हजारौँ यात्रुले आफ्नो यात्रा स्थगित गर्नुपरेको थियो भने कतिपय यात्रु वैकल्पिक उडानको प्रतीक्षामा विमानस्थलमै बस्न बाध्य भएका थिए।
एफएएका प्रशासक ब्रायन बेडफोर्डले अमेरिकी हवाई यातायात प्रणाली स्थिर अवस्थामा रहेको र सेवा क्रमशः सामान्य बन्दै गएको बताएका छन्। आइतबारसम्म हवाई सेवा पूर्ण रूपमा सामान्य हुने अपेक्षा गरिएको उनको भनाइ छ।
यसैबीच, अमेरिकी गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले उक्त प्राविधिक समस्या साइबर आक्रमणका कारण भएको कुनै संकेत नरहेको स्पष्ट पारेका छन्। घटनाबाट कसैको ज्यान जोखिममा नपरेको पनि उनले बताएका छन्।
अमेरिकी यातायातमन्त्री सिन डफीका अनुसार दुर्गम क्षेत्रमा रहेको हवाई यातायात प्रणालीको पुरानो तामाको तारलाई नयाँ फाइबर तारले प्रतिस्थापन गर्ने क्रममा समस्या उत्पन्न भएको हो। प्रणाली स्तरोन्नति गर्ने क्रममा अत्यधिक भार सिर्जना भएपछि प्राविधिक अवरोध आएको उनको भनाइ छ।
उडान अवरोधबाट प्रभावित यात्रुलाई राहत दिन विभिन्न विमान कम्पनीले टिकट परिवर्तन शुल्क हटाएका छन्। उडान रद्द भएका यात्रुलाई अर्को उपलब्ध उडानमा निःशुल्क स्थानान्तरण गर्ने वा टिकटको पूर्ण रकम फिर्ता गर्ने व्यवस्था गरिएको छ।
केही विमान कम्पनीले आइतबार र सोमबारका लागि टिकट बुक गरेका यात्रुलाई समेत शुल्क छुट तथा टिकट परिवर्तनको सुविधा विस्तार गरेका छन्।
अमेरिकी अधिकारीहरूले हवाई क्षेत्र सुरक्षित रहेको र प्राविधिक समस्या समाधान भएसँगै सेवा क्रमशः सामान्य अवस्थामा फर्किरहेको बताएका छन्। तर रद्द भएका उडान तथा यात्रुको चाप व्यवस्थापन गर्न विमान कम्पनीहरूलाई अझै केही समय लाग्ने देखिएको छ।